समाज

३ प्राविधिक कर्मचारीको भरमा चल्दै जुम्ला पूर्वाधार विकास कार्यालय

जुम्लाको पुर्वाधार विकास कार्यालय तस्वीर गोल्डेन बुढा

पूर्वाधार विकास कार्यालय जुम्ला प्राविधिक जनशक्ति अभावमा चलिरहेको छ। ११ जना दरबन्दी रहेको कार्यालयमा ८ जना मात्रै कर्मचारी भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख हरि बहादुर ओलीले बताए।  

उनका अनुसार ११ जनाको दरबन्दीमा कार्यरत ८ जनामध्ये कार्यालय प्रमुखसहित प्राविधिक जनशक्ति ३ जना मात्रै छन्। ५ जना प्रशासनतर्फका कर्मचारी हुन्। प्रदेशमै जनशक्ति नभएकोले माग गर्दा पनि पदपूर्ति भएको छैन। अहिले ३ जना प्राविधिक कर्मचारीको भरमा कामकाज भइरहेको छ। इन्जिनियर २ जनाको दरबन्दी हो, १ जना छन। ३ जना सव–इन्जिनियर हुन्,१  मात्रै कार्यरत छन्। ३ जना प्राविधिक जनशक्ति खाली छन्।

पूर्वाधार विकासको कामलाई गति दिन नसक्नु, लक्ष्य अनुसार बजेट खर्च गर्न नसक्नुका विभिन्न कारण मध्य जनशक्ति अभाव  र मौसमी प्रतिकुलता मुख्य कारण देखिएको छ। तीन वटा बहुवर्षिय योजना सँगै दुई दर्जन बढी साना योजना सहित झोलुङ्गे तथा पक्की पुल निर्माणको काम गर्दै आएको कार्यालयले प्राविधिक जनशक्ति अभावमा ३ जना कर्मचारीको भरमा चलेको छ ।

कार्यालयको अर्धवार्षिक पुँजीगत खर्च ९ दशमलब ४२ प्रतिशत भएको छ। पुँजीगततर्फ विनियोजित कुल ६३ करोड ४२ लाख ३२ हजार मध्ये ६ महिनामा ६ करोड १ लाख अर्थात् ९.४२ प्रतिशत खर्च भएको हो। ६ महिनामा न्युन बजेट खर्च हुनुका मुख्य कारण कर्मचारी अभाव,दुईवटा चुनाव र मौसम प्रतिकुलता र टुक्रे योजना रहेको प्रमुख ओलीले उल्लेख गरे। यद्यपि असार मसान्तसम्म ७० प्रतिशत पुँजीगत खर्च हुने उनको दाबी छ।पूर्वाधार कार्यालयले सकी नसकी कामलाई अघि बढाइरहेको छ।

प्रकाशित: ३ फाल्गुन २०७९ ०१:४४ बुधबार