समाज

भुक्तानी नपाएपछि उखु किसानद्वारा उद्योगमा तोडफोड

रौतहट-  रौतहटका उखु किसानले गरुडास्थित श्रीराम सुगर मिल्सबाट रकम भुक्तानी नपाएपछि उद्योगमा तोडफोड गरेका छन्। उद्योगपति र उखु उत्पादक संघबीच भएको सम्झौताअनुसार उद्योगका कर्मचारीहरुले काम गर्न नमानेपछि उद्योगमा किसानहरुले मंगलवार तोडफोड गरेका हुन्।

आक्रोशित किसानहरुले आवास क्षेत्रको बैठक तथा कार्यालयहरुको सोफा, टेबुल, कुर्सी तथा झ्याल र ढोकामा तोडफोड गरेका छन्। किसानहरुले कार्यालयमा तोडफोड र आगजनी गर्न थालेपछि इलाका प्रहरी कार्यालय गरुडा र सशस्त्र प्रहरी बेस दुधियाभारका सशस्त्र प्रहरीहरुले स्थितिलाई नियन्त्रणमा लिएका थिए।

चार दिनअघि उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा उखु उत्पादक संघका प्रतिनिधि तथा उद्योगपति हितेश गोल्छाबीच भुक्तानीका लागि पाँच बुँदे सहमति भएको थियो। सहमतिअनुसार फूलपातीको विदा अघि २०७१ फागुनमा किसानले उद्योगलाई बेचेको उखुको सम्पूर्ण भुक्तानी दिनुपर्ने। तर कर्मचारीहरुले २५ प्रतिशत तलब बढाउनु पर्ने माग राखी कर्मचारीले आन्दोलन थालेका थिए।

उद्योगको सम्पूर्ण काम रोकेर कर्मचारीहरु आन्दोलनमा उत्रेपछि किसानहरुले दशैँअघि रकम नपाउने निश्चित भएको थियो। उद्योगको अन्य काम नगर्ने तर किसानको भुक्तनीसित सम्बन्धित सम्पूर्ण कार्य अगाडि बढाउने सहमति भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले बताए।

२०७१ फागुनको रकम करिब ११ करोड बाँकी रहेको र उद्योगका कर्मचारीहरु सहमतिमा आएपछि किसानहरुले रकम पाउने आशा बढेको संघका कोषाध्यक्ष मनोज कुमार सहनीले बताए। 

प्रकाशित: ११ आश्विन २०७३ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App