समाज

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

म्याग्दीमा दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढेको छ। 

आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत् राख्दा किसानहरू मारमा परेको भन्दै सरोकारवाला निकायसँगको छलफलमा फागुन ३ गतेदेखि लागु हुने गरी उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय भएको हो।

बेनी नगरपालिकाका अगुवा कृषकको समूहले बेनी नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दी उद्योग वाणिज्य संघ सहित किसान र बिक्रेता समेतको उपस्थितिमा निर्णय भएको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रका अध्यक्ष कमल पौडेलले बताए।

‘बजारका सम्पूर्ण बस्तुहरूको मूल्य पटक–पटक बढ्दा अहिलेकै मूल्यमा आफूहरूको लागत पनि नउठ्ने अवस्थामा हामीले बाध्य भएर अनुरोध गरेका थियौं,‘यो मूल्यले किसानलाई केही राहत हुन्छ’ अध्यक्ष पौडेलले भने। 

उनका अनुसार यस अगाडी प्रतिलिटर २० रुपैयाँ बढाउन ज्ञापन पत्र बुझाएकोमा सरोकारवाला निकायसँगको छलफलबाट किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउने गरी सरोकारवाला निकायसँग सहमति भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

उनले किसान, डेरी व्यवसायी र उपभोक्ता सबैको हितमा हुने गरी मूल्य बढाउन सुझाव सहित कार्यान्वयन गर्न अनुरोध गरेको बताए। दुग्ध किसानको टोलीले बेनी नगरपालिकाका मेयर सुरत केसी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जीवन आचार्य सहितको टोलीलाई समेत मुल्यबृद्धिमा किसान, बिक्रेताको सहमति रहेको बारेमा जानकारी दुग्ध किसान सुरेश ढुंगानाले बताए। 

‘डेरीहरुले अहिले दिँदै आएको मूल्यले लागत खर्च समेत उठ्न नसक्ने भएकाले मूल्य समायोजन नभए पेशाबाटै पलायन हुनुपर्ने जोखिम थियो, ‘किसान जोगिएमात्रै दुधनको सहज आपूर्ति हुन्छ’ उनले भने।

उनका अनुसार अहिले पानीरहित दूधलाई किसानले प्रतिलिटर १ सय १० रुपैयाँमा दूध बिक्री गर्दै आएका छन् भने डेरीले उपभोक्तालाई १ सय ३० रुपैयाँमा बिक्री गर्ने गरेकोमा फागुन २ गतेदेखि किसानले प्रति लिटर १२० लिनेछन् भने डेरीले उपभोक्तालाई प्रति लिटर १४० लिने निर्णय भएको छ। 

दुग्ध उत्पादक किसानले गोठबाटै सिधै डेरीमा लैजाने गरेको र मेसिनको प्रयोग गरी जिरो वाटर भएपछि बिक्री गर्ने गरेका छन्। म्याग्दीमा कोरोनाकाल यता दुग्ध पालक कृषक पलायन हुने क्रम बढेको छ। बेनी नगरपालिकामा साना ठुला गरी २५ देखि ३० जना व्यवसायी कृषक भएपनि हाल घटेर १७ देखि २० रहेको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७९ ०८:४४ मंगलबार

म्याग्दी