समाज

कालु विकले फिर्ता गरे बाटोमा भेटेको ४० हजार

कृष्ण ओली

बाजुरा-  बाटोमा भेटिएको ४० हजार नगद  साप्पाटा–२ का कालु विकले  फिर्ता गरेका छन्।   उनी सोमबार विहान कोल्टीबाट साप्पाटा जाँदै थिए। साथमा कोही थिएनन् । विक एक्लै हिडिरहेका थिए। घडीमा विहानको करिब साढे ६ बजेको थियो। जब विक बाँधु–८ मटेला पुगे। बाटोमा कालो झोला भेटाए।

पहिले त उनले बेवास्ता गरेर अगाडि बढे । फेरि फर्केर झोला समाए । खोलेर हेरे । हेर्दा ४० हजार नगद सहीत चेक बुक भेटाए। नाम ठेगाना हेरे । कस्को भन्ने पत्ता लगाउन सकेनन्। साप्पाटा गाविस सामाजिक परिचालक समेत रहेका विक कुनै छलछाम नगरी इलाका प्रहरी चौकी कुन्ना पीलुचौर पुगे।

प्रहरीलाई खबर गरे । आफूले प्राप्त गरेको झोला जस्ताको त्यस्तै त्यहीँ बुझाए । प्रहरीलाई पनि सुरुमा नाटक जस्तै लाग्यो। एकछिन पत्याउन गाह्रो भयो । यो जमानमा पनि नगद रुपैयाँ फेला पारेर कसैले फिर्ता गर्न सक्छ भन्ने पनि लाग्यो । तर विकले इमान्दारीता नै देखाए।

कालो रंगको झोला । त्यस भित्र रहेका ४० हजार नगद, चेक बुक सहीत सामानहरु प्रहरीले बुझ्यो। चेकको आधारमा प्रहरीले चारैतिर खबर गर्यो । झोला बिच्छ्या–९ का मनी थापाको भएको पुष्टी भयो । थापालाई बोलाइएको र प्रहरीकै रोहबरमा झोला फिर्ता गरिएको प्रहरी नायव निरीक्षक कृष्ण खड्काले बताए।

थापा पनि झोला हराएकोमा भौतारीदै थिए । उनले पाउने आशा गुमाई सकेका थिए । जब प्रहरीले बोलाएर उनी व्यक्तिले भेटेका रहेछन्, भनेर कालु विकलाई चिनाए र झोला फिर्ता गरे । त्यो बेला थापाले झोला बुझेनन्, विकलाई अँगालोमा लिए । अनि स्यावासी दिए।

 

प्रकाशित: १० आश्विन २०७३ १२:०४ सोमबार

कालु विकले गरे बाटोमा भेटेको ४०