समाज

पत्रकारको नयाँ आचारसंहिता

काठमाडौं- प्रेस काउन्सिल नेपालले  पत्रकारका लागि नयाँ आचारसंहिता लागू गरेको छ। काउन्सिलले पत्रकार आचारसंहिता–२०७३ पारित गरी लागू गरेको हो। जसमा अनलाइन पत्रकारितालाई आधिकारिकता दिँदै यसका गतिविधिमा नियन्त्रणकारी व्यवस्था गरेको छ।

नेपाल पत्रकार महासंघलगायत सञ्चार संस्थासँग छलफलपछि पत्रकार आचारसंहिता २०६४ संशोधन गरी नयाँ आचारसंहिता लागू गरिएको काउन्सिलले जनाएको छ।

पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामअन्तर्गत १४ नम्बर बुँदामा अनलाइन सञ्चारमाध्यमको जिम्मेवारी शीर्षकमार्फत अनलाइन पत्रकारितालाई व्यवस्थित गर्न खोजिएको छ। अनलाइन सञ्चारमाध्यमबाट समाचार सामग्री प्रकाशन, प्रसारण वा बाह्य लिंकलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्ने उल्लेख गरिएको छ। साथै प्रकाशित वा प्रसारित भएका सामग्री अनलाइनमा रहिरहने व्यवस्था गर्नुपर्छ भन्ने उल्लेखित छ।

नयाँ आचारसंहितामा पत्रकार तथा सञ्चारमाध्यमले अरुलाई त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा लिनेे, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पुर्‍याउने नियत राखी पत्रकारिताको पेसागत मर्यादा प्रतिकूल काम नगर्नसमेत सुझाइएको छ।

प्रकाशित: ७ आश्विन २०७३ ०२:०३ शुक्रबार

पत्रकारको आचारसंहिता