सर्लाहीको मलंगवामा रहेको एक सहकारीका अध्यक्ष र प्रबन्धकले केही कर्मचारीसँग मिलेर ५० करोडभन्दा बढी अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा छानबिन गरी कारबाहीको लागि उजुरी परेको छ।
सर्लाही सदरमुकाम मलंगवामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिशंकर प्रसाद रौनियार, प्रबन्धक दीपक लाल अमात्य, कम्प्युटर अपरेटर भई लेखाको काम हेर्न कामेश्वर सिंह र खजान्ची पदमा कार्यरत निर्मल कुमार श्रेष्ठले ५० करोडभन्दा बढी रकम अपचलन गरेको भन्दै संचालक समितिका चार जनाले उजुरी दिएका हुन्।
संस्थाको संचालक समितिमा उपाध्यक्ष जयप्रकाश अग्रवाल तथा सदस्यहरू प्रेमकिशोर गुप्ता, शान्ता प्रसाद श्रेष्ठ र विकास गोयलले सहकारी ऐन २०७४ को दफा १२२ क, घ, ङ, च र १२४ बमोजिम छानबिन तथा कारबाहीको लागि माग गरेका हुन्।
मलंगवा नगरपालिका ९ मा रहेको सहकारीको कार्यालयबाट करिब तिन वर्षमा अध्यक्ष तथा प्रबन्धसहित केही कर्मचारीले संस्थालाई डुबाउने काम गरेको निवेदक गुप्ताले जानकारी गराएका छन्।
सहकारीको संचालक समितिको बैठकमा पटक पटक हरहिसाब माग गर्दा पनि आलटाल हुन थालेपछि उपाध्यक्ष अग्रवालको संयोजकत्वमा गठित छानबिन समितिले सहकारीमा करोडौँको अपचलन भएको र सहकारी डुबाउन अनेक जालझेल गरेको पाइएको अग्रवालले जानकारी दिए।
छानबिनबाट ८ करोड रुपैयाँ र ब्याज अपचलन गरेको पाइएको, बैंक स्टेटमेन्टबाट ८ करोड ६० लाख रुपैयाँ अपचलन भएको पाइएको, माइन्युटबाट करिब १४ करोड रुपैयाँ अपचलन भएको, अध्यक्षले आफ्ना पिताको नाममा २८ लाख पेस्की निकालेको, प्रबन्धकले ३ लाख अपचलन गरेको, कमसल सम्पत्ति राखी अध्यक्षले छोरा, श्रीमती तथा आफ्नै नाममा रहेको फर्मको नाममा १६ करोड ५५ लाख २८ हजार रुपैयाँ ऋण निकालेको, खजान्चीसित रहेको मौज्दात चेक गर्दा ७८ लाख ६५ हजार १२२ रुपैयाँ नदेखिएको, २ करोड ५० लाख रुपैयाँ बिना निर्णय आदेशको भरमा दिइएको तथा बिना हिसाब किताब प्रबन्धकले लाखौँ रुपैयाँ लिएको देखिएको उपाध्यक्ष अग्रवालले बताए।
कर्मचारीसहितको सबै अपचलन रकम ५० करोड २४ लाख ९४ हजार ४८८ रुपैयाँ भएको प्रमाण र सबै कागजपत्रसहित संचालक समितिका उपाध्यक्षसहित सदस्यहरूले छानबिनका लागि निवेदन दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी परेपछि अध्यक्ष रौनियार फरार भएको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय पनि चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनाको सम्बन्धमा केही बताएको छैन।
सहकारीका शेयर सदस्य तथा सर्वसाधारण विपन्न गरिबहरूको पनि बचतको रकम भएकोले हिनामिना नहोओस् र हरेकले आफ्नो रकम पाउन् भन्नाका लागि आफूहरूले आवाज उठाएको उपाध्यक्ष अग्रवालको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयमा छानबिनका लागि निवेदन दिएपछि मुद्दा मिलाउनका लागि आफूहरूमाथि निकै दबाब परिरहेको आरोप उपाध्यक्ष अग्रवालको छ। सर्वसाधारण भने पैसा फिर्ता आउने हो कि होइन भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।
सर्लाहीमा यति ठुलो रकमको अपचलन भएको सम्भवतः पहिलो घटना भएको बताइन्छ।
प्रकाशित: २८ माघ २०७९ १३:२६ शनिबार