समाज

उत्तरी गोरखामा पहिरो, विदेशीसहित चारको मृत्यु

 गोरखा–उत्तरी गोरखाको केरौंजा– ९ दोभान भन्दा तल पुलपारि पहिरोमा परी बिहीबार बिहान   चार जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। बिही गाविसबाट फर्कँदै गर्दा एक जना बिदेशी स्पेनिस नागरिकसहित गाइड ३५ वर्षका दोर्जे लामा, ३० वर्षका छिरि शेर्पा र क्यान नेपाल नामक संस्थाकी कर्मचारी ओखलढुङ्गाकी वर्ष २५ कि रञ्जना बस्नेतको पहिरोमा पुरिएर मृत्यु भएको घटनास्थल पुगेको प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

मृत्यु भएका मध्ये बस्नेतलाई पहिरोले बुढिगण्डकीमा पुर्याएको र नदीले बगाएर बेपत्ता बनाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ।  पहिरोमा च्यापिएका तीन जनाको शव बाहिर निकाल्न सकिएको छैन्। गएरातिदेखि वर्षापछि पहिरो गएको र अहिलेपनि पहिरो बगिरहेकाले शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ।

छ जना पहिरोमा च्यापिएर गम्भीर घाइते भएका छन्। घाइते हुनेमा बिदेशी मध्ये एक महिला र तीन जना पुरुष छन् भने अन्य दुई जना क्यान नेपालका कर्मचारी रहेका छन्। उनीहरुको नाम ठेगाना खुलेको छैन्। गम्भीर घाइते सबैलाई फिस्टेल एयेरको हेलिकप्टरले उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका एसपी जनकराज पाण्डेयले बताए। घटना स्थलमा उद्धारका लागि जगतबाट तीन जना र माछाखोलाबाट चार जनाको टोली घटनास्थल पुगिसकेको छ।

थप मद्दतकालागि इलाका प्रहरी कार्यालयबाट प्रहरीपनि त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । २५ जनाको टोली बिहीतर्फ जाँदैगर्दा पहिरोले पुरेको हो। थप उद्दारका लागि प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बताए। घटनास्थल गोरखा सदरमुकामबाट करिब २२ कोष टाढा पर्छ। प्रहरी युनिट रहेको ठाउँबाट घटनास्थल पुग्न तीन घण्टा समय लाग्ने र त्यहाँ टेलिफोनले काम नगर्ने भएकाले घटनाबारे ढिलो जानकारी आएको प्रजिअ भट्टले बताए ।

 

प्रकाशित: ६ आश्विन २०७३ ०८:०५ बिहीबार

उत्तरी गोरखामा पहिरो विदेशीसहित चारको मृत्यु