समाज

रहगाडको झोलुङ्गे पुल मर्मत नहुँदा सास्ती

वर्षाले बगाएपछि रहगाडमा हिँड्नका लागी बनाइएको काठको पुल। तस्बिर: ललित विष्ट

नरहरिनाथ गाउँपालिको रहगाडको झोलुङ्गे पुल लामो समय देखि मर्मत हुन सकेको छैन। झोलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष ६ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा परेका छन्।

वर्षाले बगाएपछि रहगाडमा हिँड्नका लागी बनाइएको काठको पुल।

उक्त पुलबाट नरहरिनाथ गाउँपालिका वडा नं १ देखि ९ सम्मका नागरिकमा सहज हुने गरेको थियो। तीन वर्षदेखि यो पुल निर्माण हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। वडा नं ४ र ५ का नागरिक पनि सोही पुलको प्रयोग गर्छन्।

२०७७ साल साउन १३ गते आएको बाढीले रहगाडको झोलुङ्गे पुल आधा बगाएको थियो। दुई वर्ष छ महिना बितिसक्दा पनि उक्त झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती भइरहेको छ।

नरहरिनाथ गाउँपालिका स्थानीयले तीन वर्ष पुग्न लाग्दासम्म झोलुङ्गे पुल मर्मत नहुँदा नागरिकले निकै सास्ती पाएको गुनासो गरेका छन्। नरहरिनाथ गाउँपालिका वडा नं ३ का मीनबहादुर बुढाले लामो समय झोलुङ्गे पुल मर्मत नहुनु दुःखद भएको बताए।

उनले भने ‘आफूहरू आक्कलझुक्कल गाउँ जाँदा त कति दुःख हुन्छ भने सधैँ वारिपारि गरिरहने र बिरामीलाई मान्म ल्याउँदा नागरिकलाई कति दुःख भएको होला?, त्यति पनि स्थानीय सरकारले सोचेको छैन्।’

नरहरिनाथ गाउँपालिका सूचना अधिकारी भरतकुमार कठायतले उक्त पुल बनाउन नसकिने भएकाले अर्को ठाउँमा नयाँ पुल बनाउने काम सुरु भए पनि केही समस्याले गर्दा काम रोकिएको बताए। पुल निर्माण गरिसकेपछि गाउँपालिकाले मर्मतमा बेवास्ता गरेको स्थानीयको आरोप छ।

प्रकाशित: २८ माघ २०७९ ११:२५ शनिबार