समाज

महिना दिन पनि टिकेन कालोपत्रे

ललितपुर- ललितपुरको बालकुमारीबाट खरिबोट हुँदै इमाडोल जाने सडक कालोपत्रे गरेको महिना दिन नबित्दै उप्किएर खाल्डाखुल्डीमा परिणत भएको छ। ठेकेदार कम्पनीको लापरवाहीले असारमा कालोपत्रे गरेको सडक महिना दिनमै खाल्डाखुल्डीमा परिणत भएको हो।

ललितपुर उपमहानगरपालिकाले सडक निर्माणको ठेक्का पूर्णचण्डी निर्माण सेवालाई दिएको थियो। ठेकेदारले २ लाख ५५ हजार रुपैयाँ बजेटमा करिब ९२ मिटर सडकखण्ड असार २८ मा कालोपत्रे गरेको थियो। तर कालोपत्रे गरेका एक महिना नबित्दै साउनमै कालोपत्रे उप्किएर खाल्डाखुल्डीमा परिणत भएको स्थानीयले बताए।

कालोपत्रे उप्किँदा इमाडोलवासी चिन्तित छन्। 'निर्माण कम्पनीले बजेट सक्न हतार हतार कालोपत्रे गरेका महिना दिनमै कालोपत्रे उप्किएको हो,' इमाडोलका स्थानीय आयुष भण्डारीले भने, 'पिच गर्दा ग्राभेलको साटो माटो हालेको थियो।'

पूर्णचण्डी निर्माण सेवाका प्रोप्राइटर रत्न महर्जनले सडकको डिजाइन र इस्टमेट अनुसार नै कालोपत्रे गरेको दाबी गरे। उनले भने, 'बजेट फ्रिज हुने दबाव आएपछि असार अन्तिममै भए पनि पिच गरेका हौँ। हतारमा पिच गर्दा कहीँ कतै खाल्डा पर्नु स्वाभाविक हो, हामी तुरुन्त टाल्छौँ।'

स्थानीयले पहल गरेको दुई वर्षपछि बल्लतल्ल कालोपत्रे भए पनि कम्पनीकै लापरवाहीले एक महिना नटिकेको बालकुमारीका अर्का स्थानीय नरेश तुलाधरले बताए। कालोपत्रे उप्किएसँगै सडकमा पानी जम्ने र घाम लाग्दा धुलोले आवतजावत गने हैरान हुन थालेका छन्।

यसबारे ललितपुर उपमहानगरपालिकाका इन्जिनियर रामरतन शाहले कालोपत्रे उप्किएको सडक मर्मत गर्न ठेकेदार कम्पनीलाई एक महिना अघि नै आग्रह गरेको बताए। 'मर्मत गर्न ठेकेदार कम्पनीलाई पत्र काटेका छौँ। तर कम्पनी पत्र बुझ्न आएको छैन, एक साताभित्र मर्मत नगरे कारबाही गर्छौं।'

उपमहानगरपालिकाले सडक निर्माणका लागि गत वैशाखमा ठेक्का दिएको थियो। 'हामीले दिएको ठेक्का इस्टमेट अनुसार ०.७५ इन्च कालोपत्रे हुनुपर्छ। त्यस्तै साइड डे्रनसहित ७० मिटर लामो र चार मिटर चौडा सडक मर्मत हुनुपर्छ,' इन्जिनियर शाहले भने। तर कम्पनीले सडकछेउ ढल पनि बनाएको छैन।

प्रकाशित: ६ आश्विन २०७३ ०२:१२ बिहीबार

टिकेन कालोपत्रे