समाज

सिङ्गीयाले बगाएर महिलाको मृत्यु, बक्राहाले सयौं घर डुबानमा

उर्लाबारी (मोरङ)– विराटनगर–१३ स्थित सिङ्गीया खोलाले बगाएर बुधबार एक महिलाको मृत्यु भएको छ।

नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी ४०/४५ वर्षकी महिलालाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। महिलाको शव परीक्षणका लागि कोसी अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

यसैबीच, बक्राहा र डाँस खोलामा आएको बाढीले इटहरा र पथरी शनिश्चरेमा सयौँ घर डुबानमा परेका छन् भने तीनवटा घर बगाएको छ।

डाँस खोलाको बाढीले पथरी शनिश्चरे–८ स्थित रुद्रबहादुर राई, खड्गबहादुर फागो र रामकुमार राईको घर बगाएको छ।

बाढीले सो क्षेत्रका दर्जनौँ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए।

यस्तै इटहरा– ३ स्थित धरमभकारी भन्ने ठाउँबाट बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा सो क्षेत्रका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् भने सयौँ घर डुबानमा परेका छन्। बाढीका कारण इटहरा–३ को जनता मावि, रत्नडिक प्रावि र इटहरा–५ को बालविकास प्रावि पनि डुबानमा परेपछि पठनपाठन बन्द भएको छ। रासस
 

प्रकाशित: ५ आश्विन २०७३ १४:२८ बुधबार

सिङ्गीयाले बगाएर महिलाको मृत्यु बक्राहाले सयौं घर डुबानमा