समाज

डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग

नेपाल चिकित्सक संघले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिहमाथी कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न २४ घन्टे समय दिएको छ।

संघले शुक्रबार बेलुका एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले सिहमाथी कुटपिट गर्ने प्रहरीलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउदै पनि अस्पताल परिसर भित्रै प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाईते बनाइनु अत्यन्तै दुःखद र अस्वभनीय कार्य भएको चिकित्सक संघको भनाई छ।

संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ 'सुरक्षाकर्मीबाटै गरिएको यस प्रकारको अस्वाभाविक र अत्यन्तै भर्त्सना योग्य गतिविधिप्रति नेपाल चिकित्सक संघ घोर भर्त्सना र निन्दा गर्दै उक्त घटनामा संलग्न दोषी सुरक्षाकर्मीलाई अविलम्ब “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ९पहिलो० संधोधन ऐन २०७९ बमोजिम कडा भन्दा कडा कानूनी कारवाही गर्न यस संघ जोडदार माग गर्दछ।

आजको २४ घण्टा भित्र दोषीमाथी कानूनी कारवाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षाका निम्ती नेपाल चिकित्सक संघले मिति २०७९ माघ २८ गते केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न सक्ने भएको हुँदा देशभरका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहन यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ।'

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा हिँडेको भन्दै आज दिउँसो राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक सर्जन डा। जनीथ सिंहलाई सुरक्षाकर्मीले लाठी चार्ज गरेको थियो।  

शुक्रबार राष्ट्रपति संसद्मा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा. सिंहमाथि लाठी चार्ज गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ।

गम्भीर घाइते सिंहको ट्रमा सेन्टरमा उपचार भइरहेको सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले बताए। सिंह डीउटीका लागि अस्पताल आउँदै गर्दा प्रहरीले लाठी प्रहार गरेको थियो।

आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै कार्ड देखाउँदासमेत सुरक्षाकर्मीले उनको कार्ड खोसेर लाठी प्रहार गरेको मरासिनीले बताए। प्रहरीले सिंहको टाउकोमा लाठी चार्ज गरेको थियो।

यता प्रहरी प्रवक्ता पोषराज पोखरेलले डाक्टरलाई केहि समय पर्खर्नु भन्दा उनले हात उठाएपछि प्रहरीले त्यसको प्रतिकार गरेको बताए। उनले भने, 'राष्ट्रपतिको सवारीमा हामीले उहाँलाई हामीले केहि बेर पर्खनु भनेका थियौं, तर उहाँले प्रहरीमाथि हात उठाउनु भयो। त्यसको प्रतिकारमा प्रहरीले लाठी चार्ज गरेको हो।'

प्रकाशित: २७ माघ २०७९ १६:२३ शुक्रबार