समाज

नाक थुन्दै विद्यालय

काठमाडौं–उपत्यकाका आधा दर्जनभन्दा बढी विद्यालयमा मंगलबार राखिएका बमले मानवीय क्षति त पु¥याउन भ्याएन तर अभिभावक, विद्यार्थी र आम नेपालीको मन एकैचोटि छियाछिया पार्यो । ‘विद्यालयमा बम पड्केको खबर सुन्नेबित्तिकै खुट्टा लगलग काँप्यो, मन आत्तियो,’ कागेश्वरीमनोहरा नगरपालिका–८ की अम्बिका थापाले भनिन्, ‘छोरालाई भेट्न हतारहतार विद्यालय पुगिहालेँ ।’

मनोकामना उच्चमाविको  गेटमा  बम पड्केको  खबर सुनेसँगै उनी  होस्टल बसेर कक्षा १० मा अध्ययनरत छोरो भेट्न स्कुल आइपुगेकी थिइन्  । ‘ऊ कक्षामा  पढ्दै गरेको खबर सुनेपछि नभेटी घर फर्कें,’ उनले भनिन्, ‘तर मन अझै पोलिरहेको छ ।’ उनकै जस्तो पीडा बोकेका थुप्रै अभिभावक घटनालगत्तै विद्यालय पुगेका थिए । कोही होस्टलमा रहेका नानीलाई नियाल्न आएका थिए भने कोही नानीहरु पर्याउन ।
‘बिहान छोरीले ममी आज त तपाईं मसँगै  स्कुल हिँड्नु है भनिन्,’ जोरपाटीस्थित मनोकामना उच्चमाविमा आएकी माकलबारीकी सुनिता महर्जनले भनिन्, ‘मनमा डर लागिरहेको छ ।’

मंगलबार बिहान बम आतंक मच्चिएसँगै सिंगो समाजमा निराशा छाएको छ । रमाउँदै विद्यालय जाने नानीहरु बारुदको दुर्गन्ध फैलिएपछि हातले नाक थुन्दै विद्यालय छिरेका दृश्यले धेरैको मन कुँडियो ।
‘खाटै हल्लिने गरी पड्कियो,’ कक्षा १० मा अध्ययनरत सुदीप श्रेष्ठले भने, ‘हामी आत्तिएर बाहिर निस्कियौँ ।’ विस्फोटबाट भवनमा समेत क्षति पुगेको आकाशदीपका शिक्षकले प्रार्थनास्थलमा जम्मा भएका विद्यार्थीलाई  चिन्ता गर्नु नपर्ने भन्दै बिहीबारको परीक्षाको तयारीमा जुट्न आग्रह गरे ।
‘हामीले केही नराम्रो गरेका छैनौं, त्यसैले  अरुले दिएको दुःखबाट चिन्तित हुनु हँुदैन,’ प्रार्थनास्थलमा रहेका कलिला विद्यार्थीमाझ शिक्षक सुनाउँदै थिए, ‘हामी हाम्रो पढाइलाई निरन्तरता दिँै अगाडि बढ्नुपर्छ ।’  

 

प्रकाशित: ५ आश्विन २०७३ ०१:३६ बुधबार

नाक थुन्दै विद्यालय