समाज

हाइड्रोपावरका प्रबन्ध निर्देशकलाई आयोजना ध्वस्त पार्ने र ज्यान मार्ने धम्की

खोटाङ– केन्द्रीय प्रशारणलाईनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तीबाट ज्यान मार्ने धम्की आएको छ। योजना सुरु गर्दादेखिकै फरक–फरक नम्बरबाट पटक–पटक सामान्य धम्की आउने गरेकामा सोमबार बिहान भने मोबाइलबाट योजना ध्वस्त गरिदिने र जुनसुकै बेला ज्यान मार्ने धम्की आएको हो।

हाईड्रोपावरको कामका सिलसिलामा दिक्तेलबाट बुईपा जानेक्रममा गत असार–१८ गते शनिबार राति हुर्लुङमा बास बसेकै ठाउँमा निर्घात कुटिएका राईमाथि सोमबार नचिनिएका व्यक्तीबाट ज्यान मार्ने धम्की आएको सुरक्षा श्रोतले जनाएको छ। हाईड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक राई पूर्वसभाषद समेत हुन्। ज्यान मार्ने र आयोजना तोडफोड गरेर समाप्त पारिदिने धम्की आएपछि राई बसिरहेको आयोजनास्थल दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोला किनारमा सोमबार राति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। गत भदौ–३० गते सदरमुकाम दिक्तेलमा सार्वजनिक कार्यक्रम गरेर १ मेगावाट क्षमताको हाईड्रोपावर निर्माणका सबै काम पूरा भएकाले दुई हप्ताभित्र टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बालिने जानकारी दिएपछि राई आयोजनास्थलमै बसेर काममा खट्दै आएका छन्।

आयोजनास्थल जंगलकोबीचमा र एकान्त ठाउँमा भएकाले सुरक्षा चुनौती देखिएपछि प्रशासन र प्रहरीलाई जानकारी गराएको राईले बताए। यसअघि पनि उनलाई ‘किन योजना चलाएको भन्दै पैसा माग्ने’ गरिएको श्रोतले जनाएको छ। सुरक्षाका कारण उनले धम्की दिने नम्बरहरु खुलाएका छैनन्। योजना सुरु गरिएको २०७१ साल मंसिरदेखि हालसम्मको अवधिमा २ थान हिल ट्यांक, ४ थान ड्रम, डिजेल, २ सय मिटर कालो तार, पाइपलगायतका सामान चोरी भएकोमा सोमबार राति आयोजनाको जेनेरेटर समेत तोडफोड भएको छ।

आगामी दुई हप्ताभित्र मेवा खोला हाईड्रोपावरबाट बत्ती बाल्ने लक्ष्य सुरक्षाका कारण पछाडि धकेलिने खतरा बढेको छ। राईमाथि धम्की दिने र हाईड्रोपावरको सामान चोरी गर्नेको हालसम्म पहिचान हुन नसकेको प्रजिअ कार्कीले बताए। ‘व्यक्तीको पहिचान हुन सकेको छैन, तर धम्की दिनेको नम्बर डिएसपीसावलाई प्राप्त भइसकेको छ,’ प्रजिअ कार्कीले भने, ‘त्यो नम्बरलाई हामीले वाच गरिरहेका छौँ।’

धम्कीलाई आयोजनालाई असफल बनाउने खेलको रुपमा समेत बुझ्न थालिएको छ। जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाण्डौंको प्रबद्र्धनमा पीपीपी मोडलमा जिल्लामै पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरिएको हो।

प्रकाशित: ४ आश्विन २०७३ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App