समाज

चाँडै फुले लालीगुराँस

खाँडाचक्र नगरपालिकाको वनक्षेत्रमा फुलेको लालीगुराँस। तस्बिर: ललित विष्ट

कालिकोटका वनमा माघमै लालीगुराँस फुलेको छ। फागुन चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको कालिकोटका मदन रोकायाले बताए।

डिभिजन वन कार्यालय कालिकोटले पहाडमा तापक्रम वृद्धि भएसँगै चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको जनाएको छ। लालीगुँरास राष्ट्रिय फूल भए पनि संरक्षणको अभावमा मासिदै गएको खाँडाचक्र  नगरपालिका –१ अध्यक्ष धर्मराज ताम्राकारले बताए।  सम्बन्धित निकायले यसको उपयोगिता र महत्वका बारेमा जानकारी दिने र संरक्षणका लागि ठोस कार्ययोजना नबनाउँदा गुराँस लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ।

समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि ५ हजार ६ सय मिटरको उचाइसम्ममा गुराँस पाइन्छ। कालिकोटको वन क्षेत्रमा पर्ने समुन्द्र सतहको दुई हजारदेखि ५ हजार उच्चाइसम्म पर्ने वन क्षेत्रमा विभिन्न प्रजातिका लालीगुराँस पाइने गरेको छ।

रातो गाडा रंग भएको,सेतो अनि हल्का गुलाबी रंग देखिने गुराँस कालिकोटका वनहरूमा पाइने गरेको छ। पहिले आठ प्रकारका लागि गुराँस पाइन्थ्यो तर हाल त्यो गुराँस हराउँदै गएको छ। अहिले ग्रामीण क्षेत्रको वनमा लालीगुराँसले ढकमक्क बन्ने गरेका छन्।

प्रकाशित: २६ माघ २०७९ १३:१४ बिहीबार

लालीगुराँस