इलाम–जिल्लाको साखेजुङ गाउँमा कृषि विषय पढाइ हुने पूर्वाञ्चलकै ठूलो प्राविधिक शिक्षालय सञ्चालनमा आउन लागेको छ । करिब १० करोड रुपैयाँ लगानीको ‘रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट’ आउँदो वर्षभित्र सञ्चालन गर्ने लक्ष्य छ ।
शिक्षालयमा पढाइ थालिएपछि इलाम, पाँचथर र ताप्लेजुङका प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले महँगो रकम तिरेर तराई र राजधानी जानुपर्ने छैन । गाउँस्तरको शिक्षालय भएकाले महँगा सहरको तुलनामा यहाँको पढाइभन्दा खुवाइ र बसाइ सस्तो पर्ने छ ।
सरकारीस्तरबाट पूर्वाञ्चलकै ठूलो शिक्षालय गाउँमै बन्ने भएपछि स्थानीयले ४ सय २६ रोपनी जमिन दान दिएका छन् । त्यही जमिनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले शिक्षालयका लागि संरचना निर्माण गरिरहेको छ । शिक्षालयका लागि शैक्षिक र प्रशासनिक गरी ५ भवन निर्माण भइसकेका छन् ।
प्रयोगशालाका लागि भेटेरीनरी र गाईगोठका लागि पनि ४ भवन निर्माण भइसकेको रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट सहयोग समिति अध्यक्ष अम्बिका गौतमले बताए । विद्युत् हाउस र आवासका लागि पनि भवन निर्माण भइसकेको छ । इन्स्टिच्युट परिसरमा चमेनागृह र पढ्न आउने छात्राका लागि छात्राबास व्यवस्थापन गर्ने योजना रहेको उनले सुनाए । ‘अहिले सकिएको संरचनासहित प्रयोगशाला, उपकरणलगायत कक्षा सञ्चालनसम्मको तयारीका लागि केही रकम आवश्यक छ,’ गौतमले भने, चालू वर्ष यसका लागि रकम आउने सुनेका छौं ।’
अाउँदो शैक्षिक सत्रबाट कक्षा सुरु हुने शिक्षालयमा प्रवेशिका (एसएलसी) पास गरेका विद्यार्थीले कृषि, भेटेरीनरी र डेरी शिक्षामा भर्ना हुन पाउने छन् । पहिलो चरणमा यहाँ तीनै विषयको आइएस्सी पढाइ हुनेछ । बीचमा केही दिनको प्रयोगात्मक तालिम हुनेछ भने शिक्षालयले विद्यार्थीबाहेकलाई पनि ती विषयमा बेला–बेला तालिम दिने लक्ष्य राखेको गौतमले बताए । ‘विद्यार्थीका लागि वर्षमा ४० जनाको कोटा राखिने छ,’ उनले भने, ‘हामीले त यहाँ कम्प्युटर, सूचना प्रविधि (आइटी) र सिभिल हेल्थसमेत अध्ययन–अध्यापन गराउनुपर्छ भनेका छौं । तर, त्यो चाहिँ निश्चित भएको छैन ।’
चालू वर्ष नै यहाँ कक्षा सञ्चालनमा ल्याउने लक्ष्य रहेपनि निर्माण सामग्री ढुवानीलगायत विभिन्न क्षेत्रमा गतवर्ष समस्या झेल्नुपरेकाले ढिलो भएको अध्यक्ष गौतमले बताए । ‘शिक्षालय बन्ने भएकाले हामी गाउँले मात्र होइन, जिल्लाबासी नै उत्साहित छौं,’ उनले भने । शिक्षालयका लागि २०६८ सालदेखि नै स्थानीय जुटेका थिए । गौतमकै अगुवाई र पूर्वप्रधानमन्त्री झलनाथ खनालको पहलमा शिक्षालयले ‘लय’ पाएको हो । जन्मगाउँमै शिक्षालय निर्माण हुने भएपछि पूर्वप्रधानमन्त्री खनालले समेत ५५ रोपनी जमिन दान दिएका छन् । गौतमले १८, ज्ञानुराम कटवालले १५, बासु बस्नेत र चन्द्र बस्नेतले ३०, दुर्गा दाहाल, भेषराज दाहाल, गंगा दाहाल र शेखर दाहालले ५ रोपनी तथा पहलमान सुवेदी र छविलाल ढकालले १–१ रोपनी जमिन शिक्षालयलाई दिएका छन् ।
सिटिइभिटीका परियोजना संयोजक विनयकुमार मिश्रले करिब २ महिनामा आवश्यक भवनहरू निर्माण गरेर आउँदो वर्षदेखि कक्षा सुरु गर्ने बताए । ‘यो शिक्षालय कृषि विषय पढाइ हुने सरकारी क्षेत्रको पूर्वाञ्चलकै ठूलो हो । भोजपुरमा रहेको प्राविधिक शिक्षालयमा चाहिँ कृषिको पढाइ हुँदैन,’ उनले भने । तर, शिक्षालयका लागि खानेपानी अभाव छ । करिब ७ किलोमिटरमा मुहान रहेको खानेपानी ल्याउन खानेपानी डिभिजन कार्यालयले आयोजना सञ्चालन गर्ने उनले बताए ।
प्रकाशित: ३ आश्विन २०७३ ०८:४५ सोमबार