समाज

जमिनमुनि लुकाएको लागू औषधसहित चार जना पक्राउ

वीरेन्द्रनगर नगरपालिका ३ मा जमिनमुनि लुकाएको लागू औषध। तस्बिर: नागरिक

कर्णाली प्रदेश प्रहरी ब्युरो, लागू औषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरीकाे टोलीले वीरेन्द्रनगरमा जमिनमुनि लुकाएको लागू औषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर नगरपालिका –३ पाथिभारा मन्दिर नजिकबाट प्रहरी टोलीले कोठा र जमिनमुनि गाडेको अवस्थामा १५ ग्राम ९ मिली ग्राम ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको हो।

लागू औषधसहित वीरेन्द्रनगर नगरपालिका –३ बस्ने २४ वर्षीय प्रितम शाही, ४ बस्ने १९ वर्षको अभिषेक बस्नेत, २० वर्षको रोहन धौलाकोटी र २६ वर्षको दिपेश थापा मगरलाई प्रहरीले नियन्त्रण लिइएको हो। प्रहरीले प्रितम शाहीको कोठा र कोठा नजिकै जमिनमुनिबाट लागू औषध बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए। उनीहरूको साथबाट ब्राउन सुगरसहित २१ हजार  ९ सय ४० रुपैँया फेला परेको  छ। उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थुनामा राखिएको छ। पछिल्लो दिनहरुमा प्रहरीले कर्णाली प्रदेशमा दुर्घटना न्यूनीकरण र लागू औषध नियन्त्रणका लागि विशेष अभियान चलाईरहेको छ। 

कर्णाली प्रदेशभर २०७९ साउन १ गतेयता माघ २१ गतेसम्म लागु औषध सम्बन्धी १ सय ८ जना पक्राउ परेका छन्। उनीहरूबाट १ सय ९४ ग्राम ६४ मिली ग्राम ब्राउन सुगर, ४ सय ६ ग्राम गाँजा, ८७ मिलिग्राम चरेश, १ सय ७५ ट्याप्लेट नाईट्राजेपाम सहित ५ लाख ८ हजार ७ सय ६५ रुपैँया  बरामद भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: २५ माघ २०७९ ०९:३७ बुधबार

कर्णाली प्रदेश