समाज

आगलागी पीडितलाई राहत र जस्तापाता

चार दिन अघि आगलागीमा घर गोठ गुमाएर खुल्ला आकाशमुनि बस्न बाध्य रौतामाई गाउँपालिका ५ फोक्सिन्टारका भोटुमानको परिवारलाई वडा कार्यालयले राहत र छानो छाउने जस्तापाता सहयोग गरेको छ। 

घरमा कोही नभएको बेला एक्कासि आगो सल्कन जाँदा राईको घर गोठ र घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट भएको थियो। काठ र फुसको छानो भएको घर, गोठ जलेर अन्नपात, लत्ताकपडा र भाँडा बर्तनसहित घरभित्र रहेको काठसमेत जलेर नष्ट भएको थियो।

आगलागी पीडित परिवारलाई वडा कार्यालयले तत्काल आइतबार खाद्यान्न तथा केही लत्ताकपडा र खाना पकाउने भाँडाकुँडा उपलब्ध गराएको थियो। वडाध्यक्ष पाण्डव राईले पीडित परिवारलाई खाद्यान्न दाल चामल, नुन साबुनसँगै एकसरो काम चलाऊ भाँडा कुँडा उपलब्ध गराएको बताए।

आगलागीबाट ५ लाख बढीको क्षति भएको प्रहरी सर्जमिन मुचुल्काले देखाएको वडाध्यक्ष राईले बताएका छन्। उनको घर पुन स्थापित गर्न वडाबाटै आवश्यक कर्कटपाता सहयोग गर्ने तयारी भइरहेको र थप राहतका लागि जिल्ला प्रशासन, रेडक्रस सोसाइटी र अन्य निकायहरूमा पहल भइरहेको पनि राईले बताए।

आगलागीको घटना गाउँलेले देखे पनि सिँचाइ नभएको ठाउँ भएकाले पानी अभावमा निभाउन नसक्दा हेर्दाहेर्दै घर गोठ खरानी भएको टुलुटुलु हेर्नुपरेको स्थानीय शिक्षक इन्द्र राउतले बताए। उनका अनुसार ५ सय मिटर तल सुनकोसी बग्दै गरेको भए पनि त्यहाँबाट पानी ल्याउन भिरालो रहेको र पहाडी भेगमा दमकलको सुविधा नहुँदा आगलागीको घट्नामा चश्मदिप साछी भए पनि निभाउने उपाय नहुँदा यस्ता घटना बारम्बार दोहोरिने गरेको छ।

गरिब परिवारका राईको घर गोठ जलेपछि बालबच्चा राख्ने ओतसम्म नभएपछि छिमेकीको घरमा शरण लिएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ। उनका अनुसार छिमेकका अन्य घरहरू भन्दा फिट्टा एक्लै रहेको घर भएकाले समयमा आगो निभाउन नसकेर हेर्दाहेर्दै घर गोठ जलेर खरानी भएको हो।

प्रकाशित: २४ माघ २०७९ १४:११ मंगलबार