समाज

भाषा बिगार्नेको हात अस्वीकार

काठमाडौं- नेपाली वाङ्मय प्रतिष्ठानले बिहीबार आयोजना गरेको महाकवि देवकोटा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि थिए, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती। साहित्य क्षेत्रमा योगदान पुर्‍याउने एक व्यक्तिलाई प्रदान गर्दै आएको पुरस्कार लगातार पाँच वर्षदेखि प्रदान हुन सकेको थिएन। २०६८ सालदेखि ०७२ सालसम्मका पाँच पुरस्कार विजेताको क्रमशः नाम बोलाइयो।

२०६८ साल मनिराज जोशी, ०६९ प्राध्यापक कृष्ण गौतम, ०७० भुवनहरि सिग्देल, ०७१ डा. महादेव अवस्थी क्रमशः मञ्चमा गए र पुरस्कार थापे प्रमुख अतिथिको हातबाट।

०७२ सालकी महाकवि देवकोटा पुरस्कार विजेता बुनु लामिछाने मञ्चमा पुगिन् तर प्रमुख अतिथिको हातबाट पुरस्कार लिन अस्वीकार गरिन्।

लामिछानेले भनिन्, 'महाकवि देवकोटा, भानुभक्तजस्ता महान् साहित्यकारको नाम बिगार्नेको हातबाट महाकविकै नामको पुरस्कार कसरी थापौँ?'

महाकाव्य रचयिता लामिछानेले आँखाभरि आँसु पार्दै थपिन्, 'मलाई माफ गनुहोला, म गंगा दाइको हातबाट पुरस्कार ग्रहण गर्दिनँ। अन्य जोकसैको हातबाट पुरस्कार लिन तयार छु तर मेरा अग्रज पुर्खाले प्रयोग गर्दै आएको भाषा बिगार्न लागेको समूहका व्यक्तिको हातबाट पुरस्कार ग्रहण गर्न मेरो मनले मान्दैन।'

लामिछानेले यसो भन्दै गर्दा उपस्थित सबैले उनको भनाइलाई समर्थन गर्दै डिल्लीरमण पुस्तकालयको हल तालिमय बनाए। प्रमुख अतिथि उप्रेती दयनीय देखिए। उप्रेतीको हातबाट पुरस्कार लिन अस्वीकार गरेपछि वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले  उनलाई पुरस्कार दिए। पुरस्कारको राशि १० हजार रुपैयाँ थियो।

अहिले नेपाली भाषामा चर्को विवाद छ। खुट्टा काटेर भाषालाई अपांग बनाइयो भनेर भाषाचिन्तकहरु आन्दोलनरत छन््। खुट्टा काट्ने भाषामा  उप्रेतीको पनि संलग्नता रहेको भन्दै लामिछानेले उनलाई अस्वीकार गरेकी थिइन्। कुलपति उप्रेतीले भने भाषामा आफूबाट कुनै गल्ती नभएको बताए। 'प्रज्ञा प्रतिष्ठानबाट भाषा बिगार्न कुनै कार्य भएको छैन,' उप्रेतीले नागरिकसँग भने, 'भाषाविद्हरुको छलफलले निर्णय गरेको कुरालाई प्रतिष्ठानले अनुमोदन गरेको मात्र हो।' अहिले 'द' अक्षरसँग जोडिएका शब्दबीच विवाद आएको स्विकार्दै खुट्टो काट्ने भनेको सिकाउने प्रयोजनका लागि विकल्प मात्र रहेको बताए।

'केही पदयोग र वियोगमा समस्या आएको देखिएको छ। यसलाई सुधार गर्न हामी नै लागिरहेका छौं,' उनले भने, 'विद्यालयलाई विद्यालय लेखेको होइन, मूल प्रवृष्टिलाई नचलाई बुझाउन उपवृष्टि चलाइएको हो। भाषाको मानक मूल प्रवृष्टि नै भएकाले उपवृष्टि चलाउँदैमा आपत्ति जनाउनुपर्ने आवश्यक छैन।' उनले अहिले भइरहेको विवाद नबुझेर भएको दाबी गरे।

लामिछानेले आफ्नो हातबाट पुरस्कार नलिनुमा केटाकेटीपन रहेको कुलपति उप्रेतीले दाबी गरे। 'मैले हस्ताक्षर गरेको प्रमाणपत्र लिने तर मेरो हातबाट पुरस्कार नलिनु त राम्रो होइन,' उनले भने, 'मैले पनि हस्ताक्षर फिर्ता माग्न सक्थेँ तर केटाकेटीपन देखाउन राम्रो लागेन।' लिन्नँ भन्न पाए पनि अपमानित गर्ने संस्कार ठीक नभएको बताउँदै उनले आफ्नो हातबाट लिन नचाहने हो भने अगाडि नै फलानोको हाटबाट सम्मान हो भन्ने जानकारी रहेको बताए। आयोजकले गर्दा आफू अपमानित हुनुपरेको उनको जिकिर थियो।

प्रकाशित: ३१ भाद्र २०७३ ०१:३१ शुक्रबार

भाषा बिगार्नेको हात अस्वीकार