समाज

'छैन-छैन, निजीतिर जानुस्'

सिरहा- चन्द्रअयोध्यापुर-६ मा एउटा दलित बस्ती छ। आफ्नो नाममा जमिन नभएकी फूलकुमारी सदाय यही बस्तीको एउटा छाप्रोमा बस्छिन्। तीन वर्षअघि कान्छो छोरो जन्मँदा लिइएको ऋणको भारीले उनी अझै तंग्रिन सकेकी छैनन्।

सुत्केरी व्यथाले च्यापेपछि सरकारी अस्पताल पुगेकी उनलाई त्यहाँबाट अन्यत्र रेफर गरियो। उनी लहानको निजी अस्पताल भर्ना भइन् र त्यहीँ छोरो जन्माइन्। अस्पतालले उनलाई चार दिनसम्म त्यहीँ राख्यो र त्यसबापत ५० हजार रुपैयाँको बिल थमाइदियो।

बिल तिर्न उनले गाउँकै साहुमहाजनसामु ऋणका लागि हात फैलाइन्। धितो राख्ने एकबिता जमिन पनि नभएकी उनलाई सहजै ऋण पत्याएनन् साहुले। धेरै अनुनयपछि सयकडा पाँच रुपैयाँ ब्याजदरमा उनले ऋण त पाइन् तर अझै सावाँसम्म तिर्न सकेकी छैनन्। ब्याजले झनै थलिएकी छन्।

‘विपन्नका लागि यो निःशुल्क, त्यो निःशुल्क सेवा छ भनेर सुन्छु तर व्यवहारमा हात लाग्यो शून्यजस्तै छ,’ फूलकुमारी भन्छिन्, ‘गाउँको अस्पतालमा गर्भवतीले आइरन र क्याल्सियम चक्कीसमेत नपाउने कस्तो निःशुल्क सेवा? सरकारी अस्पतालको निःशुल्क उपचार सेवा कसका लागि हो? हामीले पत्तै पाएनौं। जहिल्यै माग्दा पनि औषधि सकिएको जबाफ आउँछ सरकारी अस्पतालमा।’

 गरिबका लागि सरकारी र निजी अस्पताल एकै भएको बताउने उनी भन्छिन्, ‘जहाँ गए पनि औषधि र उपचार सामग्री आफैं किन्नुपर्दोरहेछ।’

 उपचारका लागि ऋणको बोझ बोक्नुपर्ने नियति सुकुमवासी फूलकुमारीको मात्र होइन। यहाँका विपन्न सबैको उनकै जस्तो नियति छ। उनका अनुसार स्वास्थ्यचौकीमा जाँच गरेर पुर्जामा औषधि लेखिन्छ तर दिइँदैन। स्वास्थ्यचौकीमा  समेत ७० प्रकारका औषधि आउँछन् तर फूलकुमारीजस्ता थुप्रै विपन्नले यो सरकारी सुविधाबाट लाभ लिन सकेका छैनन्। 

यही ठाउँकी सुशीला राय (अमात) ले १६ वर्षको उमेरमै एक महिनाअघि छोरो जन्माइन्। गर्भवती बेला सरकारी स्वास्थ्यचौकीमा जाँच गराउँदा स्वास्थ्यकर्मीले भिडियो एक्सरे गराउन सल्लाह दिए। एक्सरे गराउन सबै सरकारी अस्पताल चहार्दा पनि उनले त्यो सेवा पाइनन्। लहान र सिरहास्थित सरकारी स्वास्थ्य संस्थामा सेवा नपाएपछि मिर्चैयाको निजी क्लिनिक पुगेर भिडियो एक्सरे गराएको उनले सुनाइन्। 'सरकारीमा त रगतको कमी छ भन्यो तर दबाई (औषधि) दिएन', उनले भनिन्, ‘पुर्जा लेखाउन मात्र किन सरकारीमा जानू?’ उनले पनि सरकारीमा सेवा नपाउँदा साहुसँग ऋण लिएर निजी क्लिनिकमा जानुपरेको बताइन्। सुत्केरी हुने समय नजिकिँदै गर्दा उनमा तनाब पनि थपिँदै थियो। कारण थियो– सुत्केरी हुँदा लाग्ने खर्चको जोहो कसरी गर्ने। ‘सुत्केरी हुन ऋण खोज्दै थिएँ,' उनी भन्छिन्, ‘अचानक व्यथा लाग्यो, घरमै बच्चा जन्मियो।’

 चन्द्रअयोध्यापुर–२ की सगिरा खातुन गर्भवती छिन्। स्वास्थ्य जाँचका लागि उनी नियमित गाउँकै स्वास्थ्यचौकी पुग्छिन्। स्वास्थ्यकर्मीले क्याल्सियम, आइरनलगायत औषधि पुर्जामा लेखिदिन्छन्, अनि बाहिर किनेर खानु भन्छन्। ‘क्यालसियम र आइरन चक्की पनि नपाउने कस्तो सरकारी अस्पताल?’ उनी भन्छिन्, ‘७० किसिमका निःशुल्क औषधि कागजमा मात्र पाइन्छ।’

 सगिराजस्तै गुनासो नसिरुल खातुनको पनि छ। ‘रुघाखोकी लागेर स्वास्थ्यचौकी जाँदा पुर्जामा दबाई लेखिदिन्छन्,' उनी भन्छिन्, ‘स्वास्थ्यचौकीमा आधारभूत औषधि पनि पाइँदैन, बाहिरबाटै किन्नुपर्छ। यस्तो कहिलेसम्म?'

 सुनिता सदायको व्यथा पनि उस्तै छ। सात महिनाकी गर्भवती उनको शरीरमा रगतको कमी छ। आँखा पनि धमिलो देख्छिन्। धेरै बेर हिँड्न नसक्ने उनी शारीरिक रुपमा कमजोर छिन्।

‘यहाँको सरकारी अस्पतालमा जाँच गराउँदा औषधि लेखेर पुर्जा थमाइन्छ,' सीतापुरकी सुनिता भन्छिन्, ‘सरकारीमा आइरन चक्की पनि पाइँदैन। औषधि माग्दा भए पो दिनु भनेर फर्काउँछन्।' उनले भिडियो एक्सरे, रगत परीक्षणका लागि ऋण खोजेर भए पनि लहान जाने योजना बनाएकी छन्। सुकुमबासी उनलाई गाउँका साहुले ऋण पत्याउँदैनन्। ‘धितो राख्न गरिबसँग इमानबाहेक के नै छ र?' उनले दुःख पोखिन्, ‘सयकडा पाँच रुपैयाँ दर ब्याजमा ऋण दिने कोही न कोही पाइएला नि! ऋणै काढेर भए पनि ज्यान त बचाउनै पर्‍यो।’

जिल्ला अस्पताल पनि महँगो

प्रसूतिका लागि जिल्ला अस्पताल, सिरहा हतपत कोही जाँदैनन्। कोही गइहाले पनि निःशुल्क भनिएको प्रसूति सेवा निजी अस्पतालमा जत्तिकै चर्को र महँगो पर्छ। प्रसूति गराउन जाने महिलालाई सुरुमै भिडियो एक्सरे लेखिदिन्छन्– चिकित्सक तर, यो सेवा अस्पतालमा उपलब्ध छैन। अनि महिला पुग्छन् अस्पताल अगाडिकै कर्ण क्लिनिक। त्यहाँ एक्सरे, भिडियो एक्सरेलगायत सेवा छ। त्यो क्लिनिक जिल्ला अस्पतालकै मेडिकल सुपरिटेन्डेन्ट डा. दयाशंकरलाल कर्णको हो। जिल्ला अस्पताल पुग्ने बिरामी ल्याब परीक्षणका लागि पनि निजी प्याथोलोजी सेन्टर नै पुग्नुपर्छ।

चार महिनाअघि जिल्ला अस्पतालमा बुहारी बसिराको सुत्केरी गराएकी सेहाद खातुन भन्छिन्, ‘अब जिन्दगी त्यो अस्पताल फर्केर जान्नँ। ग्लोब्सदेखि औषधि र रगत परीक्षण, भिडियो एक्सरेसम्म सबै सेवा अस्पताल बाहिरका निजी क्लिनिकबाट किन्नुपर्‍यो,’ उनी भन्छिन्। यति खर्चमा त निजीमै गुणस्तरीय सेवा पाइन्छ, किन आउने सरकारीमा?’

उनले बुहारीलाई सुत्केरी गराउँदा २० हजार खर्चिनुपरेको सुनाइन्। ‘सरकारी अस्पताल यति महँगो हुन्छ भन्ने पत्तै थिएन,' उनी भन्छिन्, ‘सस्तो र गुणस्तरीय सेवा पाइन्छ भनेर आएकी  थिएँ, उल्टो भयो।’

  यस्तै बेहाल राउ स्मारक अस्पताल लहानको पनि छ। राउमा प्रसूति गराउन पुग्ने महिला निजीमै जस्तो महँगो उपचार खर्च बेहोर्नुपर्छ। अस्पतालमा बेड र डाक्टरले गर्ने जाँचबाहेक अन्य सबै सेवा महँगोमा किन्नुपर्छ। अस्पतालमा भिडियो एक्सरे सेवा छैन्। भिडियो एक्सरे गर्न निजी क्लिनिक धाउनुपर्छ। प्रसूतिका बेला चाहिने औषधी, ग्लोब्स, ग्याटगट, सबै बाहिर पैसा तिरेर किन्नुपर्छ।

 जिल्ला स्वास्थ्य प्रमुखको समेत जिम्मेवारी समालेका सिरहा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दायाशंकरलाल कर्ण भन्छन्, ‘भएजति सेवा दिएका छौं।’ अस्पतालमा नभएका सेवाका लागि त बाहिरै जानैपर्‍यो।'

 अस्पताल सञ्चालक समिति अध्यक्ष तारणीप्रसाद यादव भन्छन्, ' डा. कर्ण जनस्वास्थ्य र क्लिनिकमुखी भइदिएकाले अस्पताल सुधारको पाटो प्रभावकारी बन्न नसकेको हो।'

प्रकाशित: ३१ भाद्र २०७३ ००:४८ शुक्रबार

छैन-छैन निजीतिर जानुस्