समाज

आज उपत्यकामा इन्द्रजात्रा

काठमाडौं- वर्षाका देवता देवराज इन्द्रको पूजाआराधना गरी उपत्यकामा बिहीबार परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीमा राजधानीको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिन मनाइन्छ।

ठड्याइएको लिंगोलाई 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजित गरी विजयको प्रतीकका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जंगलमा छाडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयामा काटिन्छ। त्यसपछि साइत हेरी लिंगो काठमाडौं ल्याइन्छ। भिœयाएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ।

भाद्र शुक्ल चतुर्दशीमा मुख्य रूपमा मनाइने इन्द्रजात्रामा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवी कुमारीसहित गणेश र भैरवको रथयात्रा नजर गर्ने परम्परा छ। गणतन्त्र स्थापनापूर्व राजाबाट कुमारी, गणेश र भैरवको रथयात्रा नजर गर्ने परम्परा थियो।

इन्द्रध्वजासहित लिंगो ठड्याएपछि सुरु जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

इन्द्रध्वजाको लिंगो ठड्याएको आठौं दिनपछि आश्विन कृष्ण चौथीमा 'इन्द्रध्वज पतन' गर्ने अर्थात् लडाउने विधान रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। 'भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, 'भरण्यां निशि पातयेत्' भनी उल्लेख गरिएको छ,' उनले भने।

इन्द्रजात्राका दिन उपत्यका पश्चिमको दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ। भाद्र शुक्ल चतुर्दशीमा अनन्तनाथ (भगवान् विष्णु)को पूजा आराधना पनि गरिन्छ। यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ। अनन्त चतुर्दशीमा चोखो धागोमा अनन्त मन्त्रेर बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ।

श्रावण शुक्ल पूर्णिमा (जनै पूर्णिमा)मा कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले अनन्त चतुर्दशीमा मन्त्रेर लाउने विधान छ।

 

प्रकाशित: ३० भाद्र २०७३ ०३:२६ बिहीबार

उपत्यकामा इन्द्रजात्रा