समाज

पत्रकार महासंघको बैठक रानीमहलमा, संघीय विधान आउने

पाल्पाको रानीमहलमा भएको नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको दशौं पूर्ण बैठकमा अध्यक्ष बिष्टसहित अन्य पदाधिकारी र सहभागीहरु। तस्बिरः मुक्तिप्रसाद न्यौपाने

पाल्पा– नेपालको संविधान अनुसार स्थानीय, प्रदेश र केन्द्रलाई समेट्ने गरि नेपाल पत्रकार महासंघको विधान जारी हुने भएको छ । नेपाल पत्रकार महासंघको पाल्पामा जारी १० औं केन्द्रिय समिति बैठक तथा शाखा एसोसियटका अध्यक्षहरुको भेलाबाट महासंघको पुनर्संरचना हुन लागेको हो ।

सुरेश आचार्यको नेतृत्वमा रहेको विधान संशोधन समितिले संशोधित विधान बिहीबार महासंघलाई हस्तान्तरण गर्नेछ । बुधबार सम्पन्न पत्रकार महासंघको केन्द्रिय समितिको १० औं बैठक पाल्पाको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पाल्पाको रानीमहल दरबारमा सम्पन्न भएको छ ।

बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारको पारिश्रमिक कार्यान्वयनको लागि शसक्त रुपमा अगाडी बढ्ने निर्यण गरेको छ । विधान संसोधन समितिका संयोजक शुरेस आचार्यले अझै पत्रकारले न्यूनतम पारिश्रमिकमा काम गर्न बाध्य रहेको, पत्रकारको सुरक्षा नभएको, काममा उच्च जोखिम रहेकोले यसलाई ध्यानमा राखेर विधान संशोधन गरिएको बताए ।

‘ट्रेड युनियन अधिकार सहितको प्रोफेशनल संस्थाको रुपमा संगठनलाई अगाडी बढाउने प्रयत्नमा लागेका छौं,’ महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले भने ‘श्रममैत्री सञ्चार नीति र उत्तरदायी पत्रकारिताका लागि महासंघ लागि पर्नेछ ।’

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, सांगठनिक शुद्धिकरण, पत्रकारहरुको दक्षता अभिवृद्धि तथा नयाँ सञ्चार नीतिका सम्बन्धमा बैठकमा छलफल भएको विष्टले बताए ।

बैठकमा महासंघका महासचिव उजिर मगरले संस्थाको कार्यप्रगति, सांगठनिक अवस्था र भावी कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । कोषाध्यक्ष सूर्यमणी गौतमले २०७३ वैशाखदेखी असार मसान्तसम्मको आयव्यव प्रस्तुत गरेका थिए ।

बैठकमा सदस्यहरुले महासंघको संगठनात्मक अवस्था र शुद्धीकरण, पत्रकारको सामाजिक सुरक्षा, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम् पारिश्रमिक कार्यान्वयन विषयमा पत्रकारहरु सशक्त भएर लाग्नुपर्ने बताएका थिए ।

पाल्पा बौघागुम्हा छेर्लुङ–२ मा पर्ने रानीमहललाई प्रवद्र्धन गर्न रानीमहलमा भेला गरिएको आतिथ्य शाखा पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बताए ।

प्रकाशित: २९ भाद्र २०७३ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App