समाज

गोंगबु-एयरपोर्ट रुटमा नयाँ बस

काठमाडौं- राजधानीको नयाँ बसपार्क, लैनचौर, मैतीदेवी, सिनामंगल, एयरपोर्ट रुटमा चल्ने साना सवारीसाधन विस्थापित हुने भएका छन्। ती सवारीसाधन विस्थापन गरी त्यस रुटमा १७ वटा सुविधासम्पन्न बस सञ्चालन गरिने भएको छ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सवारीसाधन विस्थापनबारे सम्झौता भएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। श्रेष्ठका अनुसार विभाग र व्यवसायीबीच यससम्बन्धी सम्झौता भइसकेको छ। साना सवारी विस्थापन गरी बस थप्न एसियाली विकास बैंक (एडिबी)ले २१ करोड ३९ लाख ८० हजार रुपैयाँ अनुदान दिनेछ। अनुदानबाट पहिलो चरणमा १७ वटा ठूला सुविधासम्पन्न बस सञ्चालन गरिने श्रेष्ठले जानकारी दिए। 

एडिबीको अनुदान रकम नगरविकास कोषमार्फत् बस खरिद गर्न यातायात व्यवसायीलाई ८० प्रतिशत ऋण उपलब्ध गराइने, १५ प्रतिशत सरकारले अनुदान दिने र ५ प्रतिशत व्यवसायीले आफैं लगानी गर्न सहमति भएको श्रेष्ठले जनाए। अहिले त्यस रुटमा ३५ टेम्पो र २६ माइक्रोबस सञ्चालनमा छन्। 

प्रकाशित: २८ भाद्र २०७३ ०२:४८ मंगलबार

गोंगबु-एयरपोर्ट रुटमा बस