समाज

‘मास हिस्टोरिय’ले पठन–पाठन प्रभाबित

खोटाङ- छात्रामा देखिएको ‘मास हिस्टोरिय’का कारण खोटाङको हौंचुरस्थित शारदा माबिको पठन–पाठन प्रभाबित भएको छ। कक्षा–६ माथिका छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि पठन–पाठन प्रभावित भएको प्रधानाध्यपक रामकुमार बरुवालले बताए। महिना दिनअघि एक छात्रामा देखिएको अनौठो र अस्वभाबिक लक्षण क्रमशः अन्य छात्रामा फैलिएको हो। सुरुमा कक्षा–१० मा अध्ययनरत दुई छात्रामा देखिएको समस्याले हाल दैनिक १२ देखि १५ जना छात्रा बिरामी पर्ने गरेको विद्यालयले जनाएको छ । छात्रा बिरामी भएपछि शिक्षक उनीहरुको हेरचाहमा लाग्नुपर्दा पठनपाठन प्रभाबित हुने गरेको छ । अन्य कक्षाका विद्यार्थी रमिते बन्ने र कतिपय बिद्यार्थी त्रसित बनेकाले शैक्षिक वाताबरण प्रभाबित भइरहेको छ । शारदा माविमा देखिएको समस्या मास हिस्टोरिया भएको जिल्ला अस्पतालले जनाएको छ ।

यसअघि २०६०/०६१ मा सो बिद्यालयका छात्रामै देखिएको मास हिस्टोरिया महिना दिनपछि आफै नियन्त्रण भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा समेत विद्यार्थीमा देखिएको समस्या समाधान नभएको प्रअ बरुवालले जनाए। ‘उपचार गर्दा पनि छात्रामा देखिएको रोग साम्य भएन,’ बरुवालले भने, ‘छात्रा बिरामी हुनेक्रम नरोकिएपछि अभिभाबकबाट विद्यालयमै धामी राख्न दवाव आइरहेको छ।’ सामाजिक परार्मकर्ताबाट परामर्श लिएपछि विद्यार्थीमा देखिएको मास हिस्टोरिया समाधान हुने जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताए।

प्रकाशित: २७ भाद्र २०७३ १२:४६ सोमबार

मास हिस्टोरियले पठन–पाठन प्रभाबित