समाज

सीमा क्षेत्रमा गाडी तोडफोड गरी लुटपाट

शनिबार साँझमा विराटनगर महानगरपालिका–१६ स्थित नेपाल–भारत सीमा क्षेत्रको दरैयाबस्तीमा एउटा गाडी तोडफोड पछि लुटपाट भएको छ।

सरफको मार्केटिङ गर्दै दरैया पुगेको को २ च ९३०२ नम्बरको पिकअप गाडीलाई तोडफोड गरी लुटपाट गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार गाडी लिएर मार्केटिङका लागि दरैया पुगेका ३ जनालाई ४ जना युवाहरुको समूहले गाडी तोडफोड गरी उनीहरुका साथमा रहेको १२ हजार ३ सय रुपैयाँ लुटेर फरार भएका हुन्।

मार्केटिङमा पुगेका गाडी चालक मोरङको बुढीगंगा गाउँपालिका–२ का २७ वर्षीय प्रदीप खड्का, ३६ वर्षीय जनक साह र ३० वर्षीय प्रेम सुवेदीलाई लुटेरा समूहले कुटपिट गरेको डिएसपी श्रेष्ठले जानकारी दिए।

घटनामा विराटनगर–१६ का अन्दाजी २६ वर्षीय अनुप सुडी साहलगायत ४ जनाको समूहको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न ३ जनाको पहिचान प्रहरीले खुलाएको छैन। घटनामा संलग्न कोही पनि पक्राउ परेका छैन भने उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ माघ २०७९ १२:५९ आइतबार