समाज

साउदीमा दुई नेपालीको मृत्यु

नवलपरासी—रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ। साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो।

दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भएर अस्पताल लैजाने क्रममा नै मृत्यु भएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीले जनाएको छ।

त्यस्तै तीन महिनाअघि साउदी पुगेका कावासोती–९ का मीनप्रसाद अर्यालले विष सेवन गरेर आत्महत्या गरेको परिवारजनलाई उद्धृत गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिए।

यसैबीच वैदेशिक रोजगारीबारे यो हप्ता नवलपरासीबाट १८१ जनाले सेवा लिएका छन्। नवलपरासीको परासीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रबाट नौ महिलासहित ७४ जनाले सेवा लिएका हुन्। सो क्रममा सातवटा केश दर्ता भएको केन्द्रकी परामर्शदाता विना चौधरीले जानकारी दिए।

उनका अनुसार कतारमा कम्पनीले काम नदिएर फर्किएकाहरुले केश दर्ता गराएका छन्। त्यस्तै यो हप्तामात्रै यसरी वैदेशिक रोजगारीबारे सेवा लिन सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीमा १५ महिलासहित ९७ जना आएको केन्द्रकी परामर्शदाता विनु रानाले जानकारी दिए।

सो क्रममा तीनवटा केश दर्ता भएको केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले बताए। उनका अनुसार दुईवटा जेल र एउटा भनेको काम र दाम नपाएको केश दर्ता गराएका छन् ।

केन्द्रमा पुग्नेलाई वैदेशिक रोजगारीको यात्रालाई सुरक्षित बनाउने विषयमा जानकारी गराउने गरिएको छ। रासस

 

प्रकाशित: २६ भाद्र २०७३ ०९:३६ आइतबार

साउदीमा दुई नेपालीको मृत्यु