समाज

उफ्... कंलकी–नागढुंगा !

कलंकी–नागढुंगा सडकअन्तर्गत नैकापमा धुलाम्मे सडकमा सवारी साधन। तस्बिरः दिनेश गोले

खिलक बुढाथोकी
काठमाडौं–राजधानी प्रवेश गर्ने मुख्य नाका कलंकी–नागढुंगा सडकमा दैनिक हजारौं सवारीसाधन गुड्छन् ।  दुई लेनको करिब ९ किलोमिटर सडक पार गर्न भने घन्टौं लाग्छ ।

सडकको दुरवस्थाका कारण चालक, यात्रु र सर्वसाधारण हैरान छन् । त्यसैको समाधान खोज्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ असारमा सडक विस्तारका लागि ठेक्का सम्झौता गर्यो । ठेकेदार कम्पनीले काम थालेपछि फराकिलो सडकमा निर्धक्क हिँड्न पाइने भयो भनेर खुसी भएका सर्वसाधारण अहिले झन् निराश छन् ।

नौ किमी छिचोल्न दिनभर, कहिले दहमा चोबलिँदै, कहिले धुलोमा रगमगिँदै

सडक विस्तारको काम थाले पनि सडकको कालोपत्रे उप्किएर बनेका खाल्डा मर्मत भएका छैनन् । पानी पर्दा पोखरीजस्तै बन्छन्, घाम लाग्दा धुलोले पूरै बाटो नदेखिने गरी ढाकिन्छ । विस्तार कार्य थालिएको ठाउँमा सडकमै निर्माण सामग्री असरल्ल राखेर सडक झन् साँघुरो बनाइएको छ जसले जाम, ट्याँरट्याँर टुँरटुँर र  धुलोले सडक हिँडिसक्नु छैन ।

पहिले एकदुई घन्टा अवरुद्ध हुने सडकमा अहिले दैनिकजसो ४-५ घन्टा जाम खेप्नु बाध्यता बनेको छ । पानी परेका बेला खाल्डा छलेर सीमित गतिमा सवारी गुड्ने हुँदा कहिलेकाहीँ सवारी जाम कंलकीदेखि नागढुंगासम्मै पुग्ने गरेको ट्राफिक प्रहरी बताउँछन् ।

धुलोका कारण सडक आसपासका घरको रंगसमेत फेरिएका छन् । झ्यालदेखि पर्खालसम्म धुलोले धुस्रेफुस्रे देखिन्छन् । सडकछेउ सटरमा व्यापर गर्नेको सकस त हेरिसाध्यै छैन ।

पानी पर्दा भन्दा घाम लाग्दा जाम कम हुन्छ तर धुलो उडेर हिँडिसक्नु हुँदैन । यात्रुदेखि स्थानीयसम्म धुलोको मार खेप्न बाध्य छन् । कंलकी–नागढुंगा सडक भएर मोटरसाइकलमा आवतजावत गर्नेहरू कलंकी वा नागढुंगा पुग्दा धुलोले चिन्नै नसक्ने अवस्थामा पुग्छन् । नागरिक टोलीले बिहीबार गरेको स्थलगत अवलोकनमा यही देखियो ।

धुलोका कारण सडक आसपासका घरको रंगसमेत फेरिएका छन् । झ्यालदेखि पर्खालसम्म धुलोले धुस्रेफुस्रे देखिन्छन् । सडकछेउ सटरमा व्यापर गर्नेको सकस त हेरिसाध्यै छैन ।

‘सडकको यो हालतले कति समस्या भोग्न बाध्य छौं, कसरी वर्णन गरौं ?’ नैकापमा सडकछेउको सटरमा होटल चलाउँदै आएकी मुना लामाले भनिन्, ‘कानका जाली फुटाउलाझैंं गाडीका आवाज, कि धुलो कि हिलो ।’ उनका अनुसार सडकछेउ व्यापार व्यवसाय गरेर गुजारा चलाउने थुप्रैले यही कारण बेरोजगार बन्नुपरेको छ ।

नौ वर्षदेखि रत्नपार्क–नागढुंगा बस चलाउँदै आएका विकास तामाङले सडककै कारण आफूहरुले समस्या खेप्दै आएको बताए । ‘पहिले रत्नपार्क–नागढुंगा ६ टिप गथ्र्यौं, सडक बिग्रिएपछि जामका कारण तीन टिप पनि भ्याउन गाह्रो हुन्छ,’ तामाङले दुखेसो गरे, ‘दिनभरको कमाइ तेल हाल्दै ठिक्क !’ कहिलेकाहीँ लगातार चार घन्टासम्म जाममा फसेको अनुभव छ उनीसँग ।

त्यसो त जामका कारण चालकले भन्दा सडक स्थानीयले पनि पाउनु नभएको सास्ती पाएका छन् । गुर्जुधाराका स्थानीय हीरा महर्जनका अनुसार सडक वरपरको जग्गामा रोपेको उब्जनीलाई समेत सडकको दुरवस्थाले क्षति पुर्याएको छ । दैनिकीसमेत बिथोलेको उनले सुनाए । ‘आठ बजे स्कुल पठाएको बच्चा १२ बजे पुगेको उदहरण छ,’ उनले भने, ‘यहाँभन्दा बढी के समस्या खेप्न पर्यो ?’

अहिले स्तरोन्नतिका नाममा निर्माण सामग्री सडकमै जथाभाबी राख्ने र सडकमा भएका खाल्डा पनि मर्मत नगर्नाले समस्या बढ्दै गएको छ । विस्तार आयोजनाले तीन वर्षभित्र सडकलाई २२ मिटर फराकिलो बनाएर स्तरोन्नति गर्ने काम थालेको छ । सडकको दुवैतर्फ १ दशमलव २ मिटर फराकिलो साइकल लेन, ‘ग्रिनबेल्ट’ (हरियाली स्थान), साइकल लेन, अपांगमैत्री फराकिलो फुटपाथ, सडकका प्रत्येक लेन चार मिटरको बनाउने भनेर काम सुरु गरेको थियो । फुटपाथका बीच दृष्टिविहीनलाई हिँड्न सहयोग हुने खालको रबर इन्डिकेटर राखिने, फराकिलो सुन्दर सडकसँगै अपांग पैदलयात्रीलाई समेत सहजै हिँडडुल गर्न सक्ने फुटपाथ बनाउने कार्य सुरु भएको छ । कार्यसम्पन्नता हुने कति वर्ष लाग्ने विस्तार आयोजनासँगै उत्तर नभएपछि सडक प्रयोगकर्ता तथा स्थानीयले झेल्दै आएको समस्या कति वर्षसम्म झेल्नपर्ने अन्योल छ ।

करिब ९ किमी सडकमा ठाउँठाउँ गरेर करिब दुई किमी सडकमा मात्र काम सुरु गरिएको छ । तीन प्याकेज बनाएर विस्तार आयोजनाले दुइटा प्याकेज २७ महिना र एउटा प्याकेज ३० महिनाभित्र सकाउने ०७२ असार ३१ गते  शैलुङ शर्मा लुम्बिनी कान्छाराम जेभी निर्माण कम्पनीलाई जिम्मा ल्याएको थियो ।
कम्पनीले अहिलेसम्म कुनै देखाउन लायक काम गर्न सकेको छैन । सुरुमा भूकम्प र नाकाबन्दीको प्रभावले काम गर्न नसकेकाले काम ढिला सुरु भएको विस्तार आयोजना प्रमुख मनोज श्रेष्ठले बताए ।

‘जग्गा खाली भएको ठाउँमा वाल लगाउने, ह्युम पाइप हाल्ने काम भइरहेको छ,’ श्रेष्ठले भने, ‘कतिपय ठाउँमा मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन नसकेर काम हुन सकेको छैन भने कतिपय ठाउँमा अदालतबाट स्टे अर्डर जारी भएकाले काम हुन सकेको छैन ।’
उनले स्टे अर्डरको सर्वोच्चले चाँडो फैसला गरे विस्तार कार्यले गति लिने बताए । यस्तै झन्झट आइरहेका सडक विस्तार कार्य कहिले सम्पन्न हुन्छ, भन्नै नसकिने श्रेष्ठले अनविज्ञता देखाए ।

यता, ठेकेदार कम्पनीका प्रमुख नबराज भण्डारीका अनुसार पनि अवरोध आएका कारण ढिला भएको स्विर्काछन् । ‘हामीसँग जनशक्ति र मेसिन सबै छ तर विभिन्न कारण काम गर्न पाएका छैनौं,’ भण्डारीले भने, ‘अझै पनि धमाधम काम गर्ने वातावरण बन्ने हो भने समयमै काम सकाउने थियौं ।’
विस्तार आयोजनाले बताएअनुसार पहिलो प्याकेज ३.३ किमी छ । लागत ३१ करोड ४५ लाख ५९ हजार ७ सय ४४ रुपैयाँ छ । समय ०७२ असार ३१ देखि २७ महिना छ ।

दोस्रो प्याकेज ३ किमी छ । ३४ करोड ७४ लाख २६ हजार २ सय ४ रुपैयाँमा लागत छ जसको समयसीमा ०७२ असार ३१ बाटै सुरु भएर २७ महिना नै हो ।

तेस्रो प्याकेजअन्तर्गत ३.१ किमी छ । ३० महिनामा सकाउने गरी ४७ करोड ६४ लाख ४७ हजार ७ सय ८२ रुपैयाँमा ०७२ असार ३१ मै ठेक्का सम्झौता भएको हो । तीनवटै प्याकेजको ठेकेदार कम्पनी शैलुङ शर्मा लुम्बिनी कान्छाराम जेभी नै हो ।
महानगरीय ट्राफिक प्रहरी प्रभाव तथा काठमाडौं प्रवेशको नाका नागढुंगाले जनाएरअनुसार कंलकी–नागढुंगा सडकमा साना ठूला सवारीसाधन दैनिक ६ हजार ५ सयदेखि ७ हजारसम्म गुड्ने गर्छन् ।

यात्रुवाहक सवारीसाधन करिब १५ सय, मालबाहक सवारी साधान करिब १७ सय, लाइट गाडी १४ देखि १५ सय, सरकारी गाडी २५ देखि ३० वटा, एम्बुलेन्स ५० देखि ६० वटा, भारतीय गाडी ७० देखि ८० वटा, कूटनीतिक गाडी २० देखि ३० वटा गुड्छन् ।

त्यसैगरी दैनिक १ हजार ५ सयदेखि १ हजार ६ सय हाराहारी मोटरसाइकल उक्त सडक भएर गुड्ने गरेको तथ्यांक नागढुंगा चेकपोस्टसँग छ ।

 

प्रकाशित: २६ भाद्र २०७३ ०१:०२ आइतबार

उफ्... कंलकी–नागढुंगा