समाज

सडकमा हिउँ जम्दा यात्रा जोखिमपूर्ण

जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिका जाने सडकमा हिउँ जम्दा यात्रा निकै कष्टकर बनेको छ। 

पातारासी गाउँपालिका ६ उर्थु बजार देखि गाउँपालिकाको राजधानी मानिने लासी बजार सम्मको सडकमा हिउँ जम्दा यात्रा असहज बनेको हो। 

हिउँका कारण केही दिन यता मालवाहक सवारी साधन पनि चल्न सकिरहेका छैनन्। मोटरसाइकल र साना सवारी साधन भने जोखिमपूर्ण यात्रा गर्न विवश छन्। 

गत माघ ९ गते देखि जुम्लामा हिउँ पर्न सुरु भएको थियो। यद्यपि यो समस्या जुम्लाको लागि नयाँ भने होइन, जुम्लाले हरेक वर्ष यो समस्या झेल्दै आइरहेको छ। हिउँमा सवारी साधन चलाउँदा प्राय चिप्लिएर दुर्घटना हुने गर्दछ, हिउँका कारण कच्ची सडक भत्किएर हिलाम्मे भएकै कारण सवारी साधन चिप्लिएर पल्टिने डर रहेको स्थानीयवासीको गुनासो छ। 

बरफ पगालिएर भएको हिलाम्मे सडकमा गाडी फस्ने गरेकाले सवारी चालक र यात्रुले समेत सास्ती बेहोर्दै आएका छन्। 

'वर्षा सुरु भएसँगै कच्ची बाटो भत्किएर हिलाम्मे हुने गरेकाले गाडी फसेर साह्रै दुःख पाइन्छ, अर्कातर्फ गाडी पल्टिने चिन्ता पनि धेरै हुन्छ। कहिले समयमै गन्तव्यमा पुग्न नपाइने, त कहिले गाडी फसेपछि बीच बाटोमा नै यात्रुलाई ओरालेर हिँडाउनुपर्ने। यसरी बर्षेनी चालक तथा यात्रुले वर्षाभर हिउँभर दुःख पाउने गरेका छन्। यो वर्ष पनि वर्षा लागेसँगै जिल्लाका कच्ची सडकमा यातायातमा कठिनाइ हुन थालेको छ।' एक चालकले बताए। 

उनले जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिका लासी जाने सडकमा सिपले भन्दा आँटले गाडी चलाउने गरिएको बताए।

प्रकाशित: २० माघ २०७९ १७:०७ शुक्रबार