समाज

लेखनाथमा पहिरोले घर पुरिँदा ४ बालबालिकाको मृत्यु

पोखरा- अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा लेखनाथ-४ खरानीफाँटमा बिहीबार चार जनाको ज्यान गएको छ। पहिरोमा परेर दुई बालक र दुई बालिकाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मध्यरातमा माथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी सुनारको घर पुरिएको थियो। घर पुरिँदा १४ वर्षीय निशान सुनार, ९ वर्षीया रजिना सुनार, ७ वर्षीया अञ्जिला सुनार र साढे ३ वर्षीय सलमान तामाङको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले बताए।

सलमान आमासँग मामा घर आएका बेला पहिरोमा पुरिएर ज्यान गएको हो। पहिरोले लक्ष्मी सुनारकी २५ वर्षीया छोरी कविता सुनार र १० वर्षीया सविना सुनार पनि घाइते भएका छन्। उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी राती नै उपचारका लागि अस्पताल ल्याएको थियो।

प्रकाशित: २३ भाद्र २०७३ ०२:०९ बिहीबार

लेखनाथमा पहिरोले घर पुरिँदा बालबालिकाको मृत्यु