समाज

कागजी काम देखाएर भ्रष्टाचार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिका ६ सोरुकोटको समथर खौलाचौर चौर भत्काएर बनाएको भन्दै कागज बनाएर अनियमितता भएको भन्दै १५ लाख रूपैयाँ माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।  

खौलाचौर फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतनबहादुर शाही, सचिव धर्मबहादुर मल्ल र कोषाध्यक्ष धनदेवी छत्याल शाहीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो।  

सम्झौताविपरीत फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाई भुक्तानी लिने दिने काम गरी गाउँपालिकालाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ। शाही, मल्ल र छत्यालविरुद्ध बिगो १५ लाख ४४ हजार ९ सय ३० रूपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजायको मागदाबी लिइएको छ।  

समथर चौर भत्काई कुनै हार्ड रकमसमेत नभएको अवस्थामा प्राविधिक गलत प्रतिवेदन तयार गर्न लगाई अस्वाभाविक लागत अनुमान र प्राविधिक मूल्यांकन तयार गरी रकम हिनामिना गरेको अख्तियारको ठहर छ।  

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब–इन्जिनियर मनोज धामी र सव–इन्जिनियर जगतबहादुर मल्लविरुद्ध फिल्ड निर्माण योजनामा गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच गर्ने, फिल्डमा नगरेको कामको मूल्यांकन गरी नापी किताब तयार गरेको भन्दै १५ लाख ४४ हजार ९ सय ३० रूपैयाँ बिगो, कैद, जरिवानासमेत मागदाबी गरिएको छ।  

साथै गाउँपालिका वडा ६ का तत्कालीन वडा अध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनका लागि सिफारिस गरी गलत प्रतिवेदन गरेको भन्दै सजाय मागदाबी लिई आरोपपत्र दर्ता गरिएको छ।

प्रकाशित: २० माघ २०७९ ०१:१२ शुक्रबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोग