समाज

कर्मचारीको मिलेमतोमै भन्सार गेटबाटै मार्बल र टायल तस्करी

सत्ती भन्सार कार्यालय खक्रौलाको मूल गेटबाटै अवैध सामान तस्करी हुने गरेको छ। भारतीय बजारबाट अवैध रुपमा सामान ल्याएर भन्सार शुल्क नतिरेरै मूल गेटबाटै पास भएको सामान समातिएपछि खक्रौला भन्सारका कर्मचारीको मिलेमतो भएको रहस्य खुलेको छ।  

बुधबार बेलुकी करिब पौने ८ बजेतिर खक्रौला भन्सारकै बाटो भएर आएको ट्याक्टरको ट्रलीमा अवैध मार्बल र टायल प्रहरीले पक्राउ गरेको थियो। भन्सार मूल गेटमै बसेका कर्मचारीको मिलेमतोमै भन्सार शुल्क नतिरेरै अगाडि गएको ट्याक्टरलाई बालुवाटारमा रोकेर छानबिन गर्दा प्रहरीले अवैध मार्बल र टायलसहित पक्राउ गरेको हो।  

नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयका अनुसार बुधबार बेलुकी पौने ८ बजेतिर मार्बल र टायलसहित पक्राउ परेको  भे२त ७९८ नम्बरको ट्याक्टरसँगै अन्य ३ वटा ट्याक्टरमा ३० लाख भन्दा बढी मूल्यका टायल र मार्बलहरू अवैधरुपमा भन्सार गेटबाटै भित्रिएका थिए। ती सामान बर्दियाको राजापुरका हार्डवेयर सञ्चालकको भएको र त्यो भन्दा अगाडि ३ वटा ट्याक्टर पनि पास भइसकेको उनले बताए। उनले भने,‘भन्सारको मूल गेटमै एक जना सुब्बा र दुई जना पिएन बसेका थिए, त्यही बाटो ४ वटा ट्रलीसहितका ट्याक्टरले अवैधरुपमा मार्बल र टायल नेपाल भित्र्याएका थिए। जसको भन्सार शुल्क तिरिएको थिएन।’

स्रोतका अनुसार भन्सार कर्मचारीको मिलेमतोकै कारण खक्रौला नाका अगाडिबाट हाकाहाकी रुपमै अवैध सामान भित्रने गरेको छ। ‘यहाँ पहिलेदेखि नै अवैधरुपमा भन्सार नतिरेरै सामान टीकापुर, लम्की तथा बर्दियाको राजापुरसम्म जाने तस्करी गर्ने बानी परेको छ,’ स्रोतले भन्यो,‘त्यही अनुसार यसपटक पनि भन्सार कार्यालय अगाडिबाटै राजश्व नतिरेरै मार्बल र टायल बोकेका चार ट्रलीसहितको ट्याक्टर पास भए पनि कालाकुण्डा प्रहरीले एउटा मात्रै अवैध सामानसहितको ट्याक्टर पक्राउ गर्न सकेको हो। अन्य ३ ट्याक्टर भने अगाडि नै गइसकेका थिए।’ कर्मचारीले नै भगाएको ३ वटा ट्याक्टरमा करिब ३० लाख भन्दा बढी मूल्यका मार्बल तथा टायल रहेको उनले बताए। ‘अन्य तीन वटा ट्याक्टरमा करिब ३० लाख भन्दा बढी मूल्यका सामान थिए,’ स्रोतले दाबी गर्दै भन्यो,‘नपत्याए बुधबार बेलुकीको समयमा भन्सार कार्यालय अगाडि राखिएको सिसी क्यामेरामा हेर्न सकिन्छ।’  

बुधबार बेलुकीको समयमा भन्सार कार्यालयमा नायव सुब्बा सीताराम बुढाथोकीको कमाण्डमा कार्यालय सहयोगी डम्मरबहादुर ऐर र धनी रावल खटिएका थिए। सोही समयमा कर्मचारीसँगको मिलेमतोमै चार ट्रलीसहितका चार ट्याक्टरमा मार्बल र टायल भित्रिएको स्रोत बताउँछ। बेलुकीको समयमा नायव सुब्बा बुढाथोकी र दुई जना कार्यालय सहयोगी ड्युटी रहेकै समयमा सामान भित्रिएको स्विकार्दै खक्रौला भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख तुल्सीराम थारूले भने,‘सामानसहित ट्याक्टर गएको रहेछ। कर्मचारीले नहेरेरै छोडिदिएका रहेछन्। पछि कालाकुण्डा प्रहरीले भने चालकसहित ट्रलीमा लोड गरिएको मार्बल र टायल पक्राउ गरेको हो।’ ट्याक्टरमा लोड भएको २ लाख ६४ हजार ९ सय रुपैयाँ बराबरको मार्बल र टायल रहेको प्रमुख थारूले बताए। अहिले चालकसहित सामान भन्सार कार्यालयमै राखिएको उनले बताए।  

यसअघि गत पुस १ गते साँझ सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख आफैले भन्सार छली गरेर अवैध सामान भित्र्याएका थिए। उनले भारतीय बजारबाट आफ्नै सरकारी गाडीमा भन्सार छली गरेर एसी ल्याएको अवस्थामा कार्यालय प्रमुख विमलकुमार साहलाई स्थानीयले कार्यालय परिसरमै फेला पारेका थिए।  उनले सरकारी नम्बर प्लेटको गाडीमा ४ थान एसी ल्याएको अवस्थामा कार्यालय परिसरमै फेला पारेका थिए। दुई देशीय कस्टम बैठकमा सहभागी हुन भारत गएका साहले त्यहाँबाट एसी लिएर आएका थिए। एसी विवादपछि कार्यालय प्रमुख साह सरुवा भएर काठमाडौं गइसकेका छन् भने उनको ठाउँमा निमित्त प्रमुखको जिम्मेवारी थारूले निभाउँदै आएका छन्।  

प्रकाशित: १९ माघ २०७९ १३:३१ बिहीबार

भन्सार शुल्क सत्ती भन्सार कार्यालय