समाज

भारत र चीन जोड्ने सेती लोकमार्ग द्रुत निर्माण गर्न माग

काठमाडाैं-सुदुरपश्चिमका प्रतिनिधिहरुले चीन र भारत जोडने सेती लोक मार्गलाई द्रुत निर्माण गर्न माग गरेका छन्। उक्त राजमार्गको उत्तरमा पर्ने तिब्बतको ताक्लाकोट नाका खोल्न चीनसँग र दक्षिणमा पर्ने भारतको तिकुनिया नाकामा रहेको भन्सारको स्तरोन्नति गर्न भारतसँग पहल गर्न उनीहरुले अनुरोध गरेका छन्।

बुधबार नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको हो।

ज्ञापन पत्रमा पश्चिम सेती उच्च जलाशययुक्त ७५० मेगावाटको योजना छिटो निर्माण गर्न चीनलाई आग्रह गर्ने, पञ्चेश्वर परियोजनालाई द्रुत गतिमा अघि बढाउन भारतसँग पहल गर्ने बुँदा उल्लेख छन्।

सुदूरपश्चिमाञ्चल विश्व विद्यालय र मेडिकल कलेजको प्रभावकारी संचालन गर्ने, प्रत्येक जिल्लाको उपयुक्त ठाउँमा जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्ने, प्राविधिक विद्यालयको व्यवस्था गर्न पनि माग गरिएको छ।

धनगढी विमानस्थलको स्तरोन्नत गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने र हाल बन्द रहेका विमानहरुको संचालन गर्ने, चैनपुर र दार्चुला जस्ता बाढीको जोखिममा रहेका सदरमुुकाममा विशेष सुरक्षा योजना लागू गर्ने लगायतका माग प्रस्तुत गरिएको छ। सुदूरपश्चिमाञ्चल सरोकार मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीले जानकारी दिए।

ज्ञापन पत्र बुझ्दै देउवाले सूदुरपश्चिमका विशिष्ट समस्या रहेकाले समाधान गर्न विशेष रणनीति र योजना आवश्यक रहेको उल्लेख गर्दै त्यसकालागि पहल गर्ने बचन दिएका थिए।

प्रकाशित: २२ भाद्र २०७३ ०४:३६ बुधबार

भारत चीन जोड्ने सेती लोकमार्ग द्रुत निर्माण गर्न माग