समाज

एउटा दर यस्तो पनि....

बाँडेगाउँ (ललितपुर)- यहाँका नेवार महिला मिठो परिकार बनाउन निक्कै अभ्यस्त छन्। तर लामो समयदेखि उनीहरूको सिप भान्सामै सीमित थियो। यही सिपले अहिले व्यावसायिक स्वरुप पाएको छ। मिठो पकाउने उनीहरूको चुल्हो फराकिलो भएको छ। भान्छादेखि उद्यमसम्म नारासहित सञ्चालित लन्च बक्स परियोजनामार्फत् अब उनीहरूले पकाएका स्वादिला परिकार खाजाका रुपमा स्थानीय बजारमा आउने भएको छ।

अमेरीकी राजदूतावास युवा परिषद २०१५ का सदस्य श्रद्धा आचार्य र कविता चापागाईंलगायत समूहको अग्रसरता ल्याइएको लन्च बक्स परियोजनामा स्थानीय ८ महिलाले खाना बनाउने तालिम लिएर व्यावसायीक कार्यको थालनी गरेका छन्। तीजको दर खाने दिन शुक्रबार उद्घाटन गरेका उनीहरूले पहिलो दिन आगन्तुकलाई आफैंले पकाएको खिर, तरकारी र आलुको अचार खुवाएर स्वागत गरे। 

कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका अगुवा, सर्वसाधारणले उनीहरूको कामको प्रशंसा गरे। महिलालाई अघि बढाए समाजको उन्नति हुने भन्दै यस्तो काममा आफूहरूले सहयोग गर्ने वाचा गरे। गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत रोमबहादुर महतले हेर्दा सानोजस्तो लागे पनि यसले समाजमा निकै राम्रो प्रभाव पार्ने बताए। 'हो हेर्दा यो सानो जस्तो लाग्छ,' उनले भने, 'सबैले साथ दिए यसले ग्रामीण महिलाको संवृद्धिको आधार तयार गर्ने छ।' उनले आफूले नगरपालिकामा भएका उद्योग, कलकारखाना र संघसंस्थामा गएर दिदीबहिनीले पकाएको खानेकुरा खान आग्रह गर्ने सुनाए।

परियोजनाकी सदस्य कविता चापागाईंले दर खाने दिन कार्यक्रम सञ्चालन गरेर महिला उत्थानका लागि एउटा सानो कोसेली दिन पाएकोमा खुसी लागेको सुनाइन्।  'यो कार्यक्रम एउटा आडीलो दरजस्तै  हो,' चापागार्इंले भनिन्, 'यसको सफलताले ग्र्रामीण महिलाहरूको पेट सधैं भरिने छ।'

तालिममा सहभागीले प्रमाणपत्र पाएपछि थप हर्षित बनेका थिए। 'अब हामीले सधैं पतिमा भर पर्र्ने अवस्था अन्त्य हुने छ,' चिरीमायाँ महर्जनले भनिन्, 'अब हामीले पकाएका खानेकुराले परिवारको पेट भरिने मात्र हैन सन्तानको शिक्षादीक्षाको अवसर पनि जुटाउने छ।' आफैंले पकाएका खानेकुराले आम्दानी गर्ने दिन आएको उनले सुनाइन्।

तालिममा सहभागीले साताभरका लागि मेनु समेत तयार गरेका छन्। उनीहरूले ६० जना ग्राहक पनि तयार गरिसकेको सुनाए। मेनु अनुसार आइतबार भेज चाउमिन, सोमबार रोटी तरकारी, मंगलबार हलुवा तरकारी बन्ने छ। त्यसैगरी उनीहरूले बुधबार भेज मम, बिहीबार पास्ता, र शुक्रबार पुलाउ राजमा तरकारी बनाउने जनाएका छन्। सबै खाजाको मूल्य ६० रुपैयाँ राखेका छन्। उनीहरूले सुरुवातमै आफूले तयार पारेका खाजा खाने ६० जना ग्राहक पनि खोजिसकेका छन्।

अमेरीकी राजदूतावासकी प्रवक्ता इनका स्टोनह्यामले युवाको सक्रियतामा गरिएको योसाह्रै गतिलो कार्य भएको प्रतिक्रिया दिइन्। 'हामी चाहन्छौं युवाहरू समाजमा रचनात्मक काम गरुन्,' उनले भनिन्, 'यसैबाट समग्र समाजको विकास सम्भव छ।'

उनीहरूले पकाएको खाजाको स्वादमा रमाएका संघसंस्था तथा विभिन्न निकायका प्रतिनिधि नाचगानमा समेत सहभागी भए। आगामी दिनमा यी महिलाले तयार पारेका खाजा खाने वाचासहित उनीहरू विदा भए। महिलाहरूलाई सेफ मनोज चापागाईंले तालिम दिएका थिए। 'उहाँहरूले जानेकै कुरालाई केही सुधारेर सिकायौं,' उनले भने, 'साँच्चिकै मिठो पकाउन सिक्नुभएको छ।'

प्रकाशित: १९ भाद्र २०७३ ०२:५६ आइतबार

दर यस्तो पनि....