समाज

अखाद्य वस्तुबाट घिउ बनाउने गिरोह पक्राउ

विभिन्न अखाद्य वस्तु मिसाएर घिउ बनाउने एक उद्यमीसहित चार जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट प्रहरीले छापा मारेर ठुलो परिमाणमा अखाद्य बस्तुहरू बरामद गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गौर ५ स्थित पोखरीको पश्चिमी डिलमा सञ्चालनमा रहेको फुलतारा डेरी उद्योगमा छापा मारेको हो।

मेशिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्य वस्तुहरू पनि ठुलो परिमाणमा प्रहरीले बरामद गरेको छ। डेरीको नाममा अखाद्य वस्तु मिसाएर बिक्री गर्ने डेरी संचालक राजपुर नगरपालिका १ भगवानपुर स्थायी घर भई गौर ५ मा आफ्नै घरमा डेरी संचालन गरेका महम्मद मतिउल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसै गरी प्रहरीले डेरीमा कार्यरत २ जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

डेरीबाट उत्पादन हुने घिउ तथा अन्य उत्पादनमा मिसाउने अखाद्य पदार्थहरू चोर बाटो भएर भारतबाट ल्याउने गरिएको प्रहरी समक्ष डेरी संचालक मतिउल्लाहले स्वीकार गरेका छन्।

डेरीबाट उत्पादित घिउ गौर, काठमाडौँसहित मुलुकको विभिन्न भागमा सप्लाई हुँदै आएको छ। यसै गरी डेरीका घिउ, दूध, मिठाइ लगायतका सामान ठुलो परिमाणमा स्थानीयले किन्ने गरेका छन्। डेरीको वास्तविकता थाहा पाएपछि स्थानीयवासी चकित भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले प्राप्त सूचनाको आधारमा प्रहरीले छापा मारेको बताउँदै त्यहाँ बरामद भएका अखाद्य बस्तुहरूको परीक्षण गरिने तथा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम संचालक सहित दोषीहरूलाई कारबाही गरिने बताएका छन्।

खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सर्लाही रौतहटलाई खबर गरिसकेको तथा सम्भवतः बुधवार परीक्षण गरेर कारबाही प्रक्रिया अगाडि बढाइने एसपी बुढामगरको भनाइ छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मानव शरीरलाई हानी पुर्‍याउने खाद्य पदार्थमा अखाद्य बस्तुहरू मिसावट गरेर विक्री वितरण गर्दै आएको उजुरी परेपछि प्रहरी र प्रशासन कार्यालयका कर्मचारीको रोहवरमा फुलतारा डेरी उद्योगमा छापा मारिएको बताएका छन्। बरामद भएको बस्तुहरूको परीक्षण गरेर कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका छन्।

फुलतारा डेरीको वास्तविकता बाहिर आएपछि अन्य डेरीको पनि अनुगमन गर्नुपर्ने माग जिल्लामा बढेको छ।

प्रकाशित: १७ माघ २०७९ १४:०७ मंगलबार