समाज

गोकर्णेश्वरको सडकमा स्थानीयलाई सास्ती

काठमाडौं- श्राद्ध गरेर तर्पण दिंदा पितृले पाउँछन् भन्ने विश्वास बोकेर गोकर्णमा तर्पण दिन गएका रामहरी सुवेदीले यसअघि कहिल्यै नपाएको सास्ती पाए। थानकोटबाट गोकर्ण आइपुगेका सुवेदीको सास्ती जोरपाटीबाटै सुरु भयो। सुवेदीले बौद्धदेखि गोकर्णसम्मको सडक यात्राले सास्ती पाएका हुन्। 'हेर्दा सहरजस्तो छ तर सडक भने विकट गाउँका जस्ता पनि रै'नछन्,' सुवेदीले भने, 'बौद्धदेखि गोर्कणैसम्म सडक यति धेरै खराब रहेछ कुरै नगरौं।' गोर्कण जाँदा जोरपाटीसम्म गाडीमा त्यसपछि बेँशीगाउँ, मेडिकल कलेज हुँदै करिब २ किलोमिटर पैदल हिँडेरै गोर्कण पुगे उनी। गोर्कण जाने श्रद्धालुको भीड भएपछि जोरपाटीभन्दा अगाडि यातायातका साधन जान दिइएको थिएन।

'जाँदा माथिल्लो बाटो गएँ, बाटो धेरै हिलो रहेछ,' सुवेदीले भने, 'आउँदा खोलाको बाटो हुँदै नारायणटार निस्केँ। त्यो बाटो त झन् धेरै हिलो रहेछ।' गाडीमा यात्रु खचाखच भएपछि चढ्न नसकेर नारायणटारदेखि बौद्धसम्म पैदल हिँडेर आएका उनले आफ्ना हिलाम्मे जुत्ता र पाइन्ट देखाउँदै भने, 'झन् यो मूल सडक त असारको खेत जस्तो पो रै'छ।'

सास्ती सुवेदीले मात्रै पाएका होइनन्। कुशेऔंशीमा गोर्कण पुग्ने अधिकांश सबैले सुवेदीको जस्तै समस्या खेपे। 'सडक हिलाम्मे रहेछ, हिँड्नै कठिन भयो,' गोर्कणमा भेटिएका भक्तपुर झौखेलका रामप्रसाद दाहालले भने 'भीड ठूलो छ। भीड र हिलो छलेर हिँड्न साह्रै सास्ती भयो।' कुशेऔंशीमा पितृलाई तर्पण दिन जानेले बिहीबार एक दिन समस्या खेपे तर गोकर्णेश्वर नगरवासीले भने दैनिक भोगिरहेको समस्या हो यो।

बौद्धनाथ स्तुपको मूलद्वारबाट जोरपाटीतिर अघि बढेपछि सडकमा खाल्डा सुरु हुन्छन्। मूलद्वारबाट पीपलबोटसम्म करिब ७ सय मिटर सडकमा ठूल्ठुला खाल्डा छन्। हिउँदमै बिग्रेको सडक मनसुन सुरु भएयता सधैं जलमग्न हुन्छ। सडक विस्तार गर्न घर भत्काइ रहेकाले पनि हिलो र धुलोको प्रकोप अत्यधिक छ।

जोरपाटी–बेँशीगाउँ–मेडिकल कलेज–गोकर्ण–सुन्दरीजल सडकको अवस्था पनि उस्तै छ। खाल्डामा पानी जमेर पोखरी बन्छन्। त्यसैगरी जोरपाटी भएर साँखु जाने सडकको अवस्था अझै नाजुक छ। जोरपाटी ओरालो– नारायणटार सबैभन्दा बढी भत्केको छ। मित्रपार्क–बागमती किनार–नारायणटार–गोर्कण जाने सडकको अवस्था पनि अन्य सडकभन्दा फरक छैन।

सडकको मर्मत सडक डिभिजन कार्यालय एकले गर्नुपर्ने हो तर डिभिजनले यो सडक उपत्यका सडक विस्तार आयोजनालाई सुम्पिसकेको बताउँछ। 'हामीले विस्तार आयोजनालाई जिम्मा लगाईसकेका हौं,' डिभिजनका प्रमुख धमेन्द्र झाले भने, 'एक महिनाअघि क्षेत्र नंं. ३ का सांसद्, विस्तार आयोजनाका प्रमुखसहितको टोलीले बसेर अस्थायी मर्मत समेत विस्तारले गर्ने निर्णय भईसकेको हुँदा हाम्रो जिम्मेवारीमा पर्दैन्।' झाका अनुसार मित्रपार्कदेखि गोकर्णसम्मको बागमती करिडोर भने डिभिजनले अहिले मर्मत गर्ने तयारी गरेको छ।

चावहिलदेखि साँखुसम्म सडक विस्तारको क्रममा छ। त्यसैगरी जोरपाटीदेखि सुन्दरीजलसम्म पनि विस्तारको लागि चिनो लगाउने तयारी भईरहेको छ। विस्तार आयोजनाले पहिलो चरणमा चावहिलदेखि जोरपाटीसम्म विस्तार गर्नको लागि गत असोजमै जिम्मा लिएको हो तर काम भने शुरुवात गरेकै छैन्। 'घर भत्काउने काम नै शुरु भएको छैन,' विस्तार आयोजनाका प्रमुख मनोज श्रेष्ठले भने, 'उपत्यका विकास प्राधिकरणले जग्गा खाली नगरिदिंदा ठेकेदार परिचालन गर्न सकेका छैनौं।' प्राधिकरणले भने घर भत्काउन काम भईरहेकाले जग्गा खाली हुन अझै छ महिना लाग्न सक्ने अनुमान गरेको छ।

विस्तारको काम चाँडो नहुने देखिएपछि एक महिना अगाडि क्षेत्र नं. ३ का सांसद्, विस्तार आयोजना, डिभिजन, नगरपालिका र स्थानीय बसेर अस्थायी मर्मतको गर्ने निष्कर्ष निकालेको थियो। तत्काल स्थायी मर्मत गर्न नसकिने भएपनि विस्तार आयोजनाले १५ दिनभित्र अस्थायी मर्मतको गर्ने जिम्मा लिएपनि महिनादिन पुग्दा समेत काम अगाडि बढाएको छैन्। 'हामीले ठेकेदार नै परिचालन गर्न सकेको छैनौं,' श्रेष्ठले भने, 'जग्गा पूर्ण रुपमा खाली नभएकाले गर्दा ठेकेदार परिचालन गर्न नसक्दा अस्थायी मर्मतको लागि पनि काम गर्न नसकेका हौं।' यता क्षेत्र नं. ३ का सांसद् रामेश्वर फुँयालले भने पूर्ण रुपमा अस्थायी मर्मत हुन नसकेको र वर्षायाममा अस्थायी मर्मतको अर्थ नरहेको भन्दै उनले चाँडो विस्तारको कार्य गरिनुपर्ने बताए। विस्तारको लागि मुआब्जा दिएर काम अगाडि बढाउन आफुले समेत पहल गरिरहेको उनको धारणा थियो।

प्रकाशित: १७ भाद्र २०७३ ०२:०२ शुक्रबार

गोकर्णेश्वरको सडकमा स्थानीयलाई सास्ती