समाज

अलपत्र घ्याम्पेशाल–ताकुकोट सडक

घ्याम्पेशाल–ताकुकोट सडक।

निर्माण व्यवसायीले काम नगर्दा गोरखाको घ्याम्पेशाल–पाँचखुवा देउराली–ताकुकोट सडक समयमै कालोपत्रे हुन सकेन। कालोपत्रे सकिनुपर्ने बेला अहिले सम्म सुरु भएको छैन। नाला निर्माण, सडक बिस्तार लगायतका ५० प्रतिशत मात्रै काम भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ।

२९ करोड ७७ लाखमा ८ दशमलव ६३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा बिरुवा÷वाईवा एण्ड लामा जेभीले लिएको थियो। २०७७ साउन १४ गते सम्झौता भएको उक्त काम २०७९ साउन ६ गते पुरा गर्नुपथ्र्यो। काम नसकेपछि २०८० बैशाख २४ गते सम्मकालागि पुन म्याद थप भएको छ। पुरा म्यादमा ५० प्रतिशत मात्रै काम गर्ने निर्माण कम्पनीले थप समयमा पुरा गर्नेमा स्थानीय शंका गर्छन।

वर्षातको समयमा उक्त सडक हिलाम्य हुँदा यात्रुबाहक सवारी आउजाउ गर्न मुस्किल पर्छ। बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र र वडा कार्यालयमा जानेहरुले दुःख पाउँदै आएका छन्। आउँदो वर्षातमा पनि पहिलेको दुःख दोहोरिने भएको छ।

निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयले पटक–पटक पत्राचार गरेको छ। कामको गती सुस्त भएको, साइडमा कामदार नभेटिएको, यन्त्र उपकरण, सामग्रीहरु नदेखिएको भन्दै पत्राचार गर्दापनि कम्पनीले काम नगरेको पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले बताए। ‘के कति कारणले काम नभएको हो, काम नगर्नेलाई कारबाही किन गर्नुनपर्ने भनेर स्पष्टिकरण सोधेका छौँ’ उनले भने।

कार्यालयलाई नटेरेका निर्माण कम्पनीले गाउँपालिकालाईपनि टेरेनन्। सडक निर्माण ढिला हुँदा सास्ती भएको गुनासो दिनहुँ वडा र पालिकामा सर्वसाधारणले गर्न थालेपछि बारपाक सुलिकोट गाउँपालिकामा बैठक भएको थियो। निर्माण कम्पनीका प्रतिनिधि, पूर्वाधार बिकास कार्यालय, गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट सहितको उपस्थितीमा भएको छलफलमा निर्माण ब्यवशायीले तत्काल काम थाल्ने प्रतिवद्धता जनाएका थिए। मेसिनहरु ल्याएर काम सुरु गर्ने, कालोपत्रे थाल्ने, अहिले थप भएको समयमा काम सिध्याउने निर्णय बैठकमा भएको थियो। बैठक सकेर गएपछि निर्माण कम्पनीले निर्णय गरे अनुसार कुनै काम नगरेपछी सर्वसाधारण आक्रोशित छन्।

‘सदरमुकाम जाने सडकपनि उस्तै छ, गाउँपालिका तर्फ जानेपनि हिलो र धुलो उस्तै छ’ बारपाक सुलिकोट ७ का वडा अध्यक्ष कृष्ण गुरुङले भने। निर्माण व्यवसायीका कारण जनताले धेरै दुःख पाएको बताउँदै उनले अहिलेपनि काम ठप्प रहेको बताए। यो गतीमा काम हुने हो भने अझै वर्षौँ लाग्नेछ। निर्माण कम्पनीले जनप्रतिनिधिलाईपनि बारम्बार ढाँटेका छन्।  

प्रकाशित: १६ माघ २०७९ १३:१९ सोमबार

घ्याम्पेशाल–ताकुकोट सडक