आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेकाे छ। अनुसन्धानको क्रममा सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङको बयान लिएको हो।
प्रहरी स्रोतका अनुसार सोमबार प्रहरीले गुरुङलाई बयानका लागि टेकुस्थित प्रहरी कार्यालयमा बोलाएको छ। अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयमा उनको बयान भइरहेको प्रहरी स्रोतले नागरिक न्यूजलाई जानकारी दियाे।
इलामका प्रेमप्रसाद आचार्य संघीय संसद् भवनअगाडि आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका थिए। उनले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा ६ हजार बढी शब्दको स्ट्याटस लेखेका थिए।
स्ट्याटसमा उनले भाटभटेनी लगायत अन्य कम्पनीहरुले उधारोमा सामग्री लगेको उल्लेख गरेका थिए। स्ट्याटसमा नाम उल्लेख गरेका व्यक्ति र कम्पनीविरुद्ध आत्माहत्या दुरुत्साहनमा आचार्यकी श्रीमती नानुका अधिकारीले काठमाडौं प्रहरी परिसर, टेकुमा जाहेरी दर्ता गरेकी थिइन्। त्यहि आधारमा अहिले प्रहरीले अनुसन्धान थालेको छ।
प्रकाशित: १६ माघ २०७९ १०:४७ सोमबार