समाज

खुलामञ्च निर्माणमा अवरोध हट्यो

कोहलपुर-११ न्युरोडस्थित मैदानमा खुला मञ्च निर्माण गर्दा उत्पन्न अवरोध हटेको छ। नगर विकास समिति र डिभिजन वन कार्यालयबीच सहमति जुटेपछि खुलामञ्च निर्माणमा उत्पन्न अवरोध तत्कालका लागि हटेको हो।

माघ १० मा नगर विकास समितिले निर्माण कार्य सुरु गर्न खोज्दा डिभिजन वन कार्यालयले अवरोध उत्पन्न गरेको थियो, तर नगर विकास समितिका सदस्य सचिव टीकाराम ढकालका अनुसार वन कार्यालयसँग समन्वय गरेर निर्माणमा अवरोध उत्पन्न नगर्ने सहमति भएको छ। नगर विकास समितिले ठेक्का प्रक्रियामार्फत खुला मञ्च निर्माण गर्न लागेको छ।

वन डिभिजन कार्यालयले लामो समयदेखि भोगचलन गर्दै आएका कारण सुरुमा निर्माण कार्यमा अवरोध सिर्जना गरेको थियो। पछि सरकारी कागजात सबै नगर विकास समितिका नाममा भएका कारण दुई पक्षबीच निर्माण कार्य अघि बढाउने सहमति भएको नगर विकास समितिका सदस्य सचिव ढकालले बताए। मञ्च निर्माणका लागि नगर विकास समितिले ठेक्का आह्वान गरेर सम्झौतासमेत भइसकेको छ।

खुलामञ्च निर्माण गर्ने जग्गामा वन कार्यालयले अवरोध गरे पनि सम्झौता नभएको दुई महिनासम्म पनि काम सुरु हुन सकेको थिएन। मञ्च निर्माणका लागि गत मंसिर ११ मा नगर विकास समिति र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो।

नगर विकास समितिका अनुसार मञ्च निर्माणका लागि गत भदौ महिनामा ठेक्का आह्वान गरिएको थियो। ९९ लाख रूपैयाँमा मञ्च निर्माण हुने छ। ठेक्का प्रक्रियामार्फत मञ्च निर्माण जिम्मा सुप्रिम निर्माण सेवा वीरेन्द्रनगर ११ सुर्खेतले पाएको छ। निर्माण कम्पनीका साइड इन्चार्ज चन्द्रप्रकाश खड्काले दुई पक्षीय सहमतिपछि काम सुरु भएको बताए। उनका अनुसार अब निरन्तर मञ्च निर्माणको काम सुरु हुन्छ। असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।

प्रकाशित: १६ माघ २०७९ ०२:१८ सोमबार

खुला मञ्च निर्माण असार मसान्तसम्म निर्माण सम्पन्न