समाज

बेरोजगार युवायुवतीलाई कम्प्युटर शिक्षा, स्वरोजगार बनाउने लक्ष्य

जुम्लामा बेरोजगार युवायुवतीका लागि एडभान्स कम्प्युटर तालिम सुरु भएको छ। तीन महिने बेसिक कम्प्युटर सीप सिकिसकेका बेरोजगार युवा युवतिलाई स्वरोजगार बनाउने उद्देश्यले १ सय ८० घण्टे एडभान्स कम्प्युटर तालिम सुरु भएको हो।

तालिममा यहाँका आठ स्थानीय तहका ३० जना युवायुवती सहभागी रहेका छन्। तालिम दिनको दुई घण्टा संचालन हुनेछ, भने जुम्लाको नाईस कम्प्युटर ईन्च्युटले तालिम संचालने गर्नेछ।

आइतबारदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै चन्दननाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख नवराज देवकोटाले सङ्घीयता पछि उद्यमशीलता र युवामैत्री नीति तथा कार्यक्रम नहुँदा कर्णालीमा बेरोजगारी न्यूनीकरणमा अपेक्षित सुधार हुन नसकेको बताए।

उनले भने, 'अनुत्पादनशील क्षेत्रमा बढ्दो लगानीले चुलिँदो बेरोजगारको समस्या न्यूनीकरणमा चुनौती थपिएको छ। एडभान्स कम्प्युटर तालिमले युवालाई स्वरोजगार बन्न प्रेरणा दिने छ। सीप सिकेका दक्ष युवालाई स्थानीय सरकारले लगानी गर्ने नीति बनाउन आवश्यक छ।'

सामाजिक विकास अधिकृत तुलराज चौलागाईले  १ सय ८० घण्टे कम्प्युटर एडभान्स तालिमले युवा स्वरोजगारका लागि कोशे ढुङ्गा बन्ने बताए।

'युग सुहाउँदो कम्प्युटर सिपले मनग्य कमाउन सकिन्छ। कम्प्युटर सीप सिकेर भविष्यमा व्यावसायिक बन्नुका साथै आयआर्जनमा जुट्ने, युवाहरूमा हुटहुटी पनि छ। यस तालिमले जीवनमा सुधार ल्याउने आशा छ। बेरोजगार युवायुवतीलाई विकास निर्माणदेखि नीति निर्माण तथा आर्थिक उपार्जनको पहुँचमा पुराउन सिपयुक्त तालिम र उधमिलता मैत्री नीति आवश्यक छ।' उनले भने।

प्रविधिको समुचित प्रयोग गरेको खण्डमा मनग्य कमाउन सकिने सम्भावना पर्याप्त छन्। सरकारीदेखि गैरसरकारी क्षेत्रमा जागिर खान पनि कम्प्युटर शिक्षा अनिवार्य छ। एडभान्स कम्प्युटर तालिम लिन पाउँदा युवायुवती उत्साहित भएका छन्।

प्रकाशित: १५ माघ २०७९ १४:०९ आइतबार