समाज

उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार

काठमाडौं- मानवतस्करले उज्वेकिस्तानका युवतीलाई नेपालको बाटो हुँदै अवैध तरिकाले भारतीय ‘यौनबजार’ पुर्‍याउने गरेको खुलेको छ।

भारतका विभिन्न सहरका धनाढ्यलाई उज्वेक युवती उपलब्ध गराउन तस्करले नेपाललाई ट्रान्जिट बनाइरहेको पाइएको हो। 

नेपालमा भिजिट भिसामा प्रवेश गर्ने उज्वेक युवतीलाई तस्करले भारतको भिसाबिनै सडकमार्गबाट भारतका विभिन्न सहर पुर्‍याउने गरेका छन् । उनीहरुलाई सोही मार्ग प्रयोग गरेर काठमाडौं ल्याई स्वदेश फिर्ता पठाउने गरेको समेत पाइएको छ।

नेपाल आउने धेरै उज्वेकिस्तानका युवती ‘ओभर स्टे’ (भिसाभन्दा बढी समय बस्ने) गर्न थालेपछि अध्यागमन विभागका कर्मचारीले सोधपुछ गर्दा यस्तो भेद खुलेको हो ।

‘उज्वेकिस्तानका युवती ओभर स्टे गर्ने क्रम बढ्दो छ । उनीहरुलाई किन समयमै भिसा नवीकरण नगरेको भनी सोध्दा भारतबाट फर्कन ढिला भयो भन्ने जवाफ दिन्छन् । तर उनीहरुको पासपोर्ट हेर्दा भारतको भिसा भेटिँदैन,’ अध्यागमन विभागस्रोतले नागरिकसँग भन्यो, ‘केहीले सिधै आफूहरु भारतमा व्यावसायिक रुपमा यौनधन्दामा संलग्न भई फर्केको बताउँछन् ।’

स्रोतका अनुसार यस्ता युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा लिन नेपाली दलाल पुग्ने गर्छन् । नेपाली दलालले उज्वेकिस्तानी युवतीलाई विभिन्न सडक मार्गबाट भारत प्रवेश गराउछँन् । सीमा कटाएर भारतीय दलालको जिम्मा लगाएपछि नेपाली दलाल फर्कने गर्छन् । ‘उज्वेक युवतीलाई टिआइएमा नेपाली दलालले रिसिभ गर्छन् । झन्डै स्कटिङ शैलीमा उनीहरुलाई नेपालबाट भारत प्रवेश गराउने गरेको जानकारी हामीले पाएका छौं,’ स्रोतले भन्यो ।

भारतले उज्वेकिस्तान नागरिकलाई भिसा दिन कडाइ गरकोले तस्करले नेपालको बाटो हुँदै उनीहरुलाई भारतको विभिन्न सहर पु¥याउने गरेका हुन् । नेपालले उज्वेकिस्तान नागरिकलाई अनअराइभल भिसा दिने हुँदा पनि तस्करलाई थप सहज भएको हो । नेपालले नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया गरी १२ देशबाहेकका विश्वका सबै देशका नागरिकलाई अनअराइभल भिसा दिँदै आएको छ ।

नेपाललाई भने विश्वका कुल ३७ देशले मात्र अनअराइभल भिसा दिने गरेका छन् ।

‘तस्करले नेपालमा दिइँदै आएको अनअराइभल भिसाको दुरुपयोग गरेर उज्वेक युवतीलाई भारत पु¥याउने गरेको देखिन्छ । नेपालभित्र निश्चित समय घुम्न उनीहरुलाई भिजिट भिसा उपलब्ध गराइन्छ तर तस्करले उनीहरुलाई सिधै सीमा कटाउने गरेको देखियो,’ स्रोतले भन्यो, ‘यसले विश्वमा नेपालको नाम बदनाम गराउँछ ।’

यस्तै, गतिविधिका कारण अमेरिकाले मानव तस्करी सम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा नेपाललाई मानव तस्करीको स्रोत, ट्रान्जिट र गन्तव्य राष्ट्रका रुपमा चित्रण गर्दै आएको छ । अमेरिकी वार्षिक मानवतस्करी प्रतिवेदनमा नेपाललाई टायर टुमा राखिएको छ ।

स्रोतका अनुसार पछिल्ला साता ओभर स्टे गरेका कारण क्षतिपूर्ति बुझाई अध्यागमन विभागबाट भिसा नवीकरण गर्ने उज्वेक युवतीको संख्या पाँच छ । अध्यागमनको तथ्यांकअनुसार सन् २०१५ यता १ सय ९७ जना उज्वेक नागरिक नेपाल प्रवेश गरेको देखिन्छ जसमध्ये युवतीको संख्या १ सय ५० छ । यसरी नेपाल आउने उज्वेक युवती करिब डेढ वर्ष अवधिमा २ देखि ४ चारपटकसम्म नेपाल प्रवेश गरेको पाइएको छ ।

‘सन् २०१५ यता नेपाल प्रवेश गरेका मध्ये डेढ सय उज्वेक युवती स्वदेश फर्केका छन्, बाँकी फर्केको देखिँदैन,’ स्रोतले भन्यो, ‘नेपालमा ओभर स्टे गर्ने विदेशीमा चौैथो ठूलो संख्या उज्वेक नागरिकको छ ।’

नेपाल भित्रने अधिकांश उज्वेक युवतीले टिआइए अध्यागमनबाट एक महिनाको भिजिट भिसा लिने गरेका छन् । नेपालले १५ दिन, एक महिना र ९० दिनको भिजिट भिसा अध्यागमनबाट उपलब्ध गराउँछ । जसअनुसार १५ दिनका लागि २५ अमेरिकी डलर, एक महिनाका लागि ४० अमेरिकी डलर र ९० दिनका लागि एक सय अमेरिकी डलर नेपाल सरकारलाई राजस्व बुझाउनुपर्छ ।

‘ओभर स्टे गर्ने उज्वेक युवतीको भिसा नवीकरण गर्दा लाग्ने क्षतिपूर्ति र राजस्व बुझाउन दलाल नै आउँछन्,’ स्रोतले भन्यो, ‘तस्करको ठूलो सञ्जाल छ ।’

उज्वेक सरकारले विदेश जाने आफ्ना नागरिकलाई ‘अभिर’ लिन अनिवार्य गरेको छ । यो पासपोर्टमा लगाइने एक प्रकारको स्टिकर हो । यो स्टिकर पासपोर्टमा नलागे कोही पनि उज्वेकिस्तान नागरिक विदेश उड्न पाउँदैन । यो स्टिकरको अवधि दुई वर्षको हुन्छ । यो अवधिभित्र अभिर लिने उज्वेकिस्तान नागरिक स्वदेश फर्किसक्नुपर्छ तर नेपाल भित्रने उज्वेकिस्तान युवतीले केहीले मात्र यस्तो स्टिकर लिएको पाइएको छ ।

‘कति उज्वेकिस्तान युवतीको पासपोर्टमा अभिर स्टिकर नै हुँदैन । तस्करले उज्वेकिस्तानबाटै सेटिङ मिलाएको देखिन्छ,’ स्रोतले भन्यो ।

उज्वेकिस्तान युवतीलाई नेपालको बाटो हुँदै भारत पु¥याउने गरिएको सम्बन्धमा बुझ्दा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले यस्तो कुरा आफूले पनि सुनेको बताए । न्यौपानेले भने, ‘व्यावसायिक यौनकर्मीको रुपमा उज्वेकिस्तानका युवतीलाई नेपाल हुँदै भारत पुर्‍याइन्छ भन्ने सुनेको हो। यस विषयमा हामी बुझ्दै छौं ।’ नेपाल आउने उज्वेकिस्तान युवती धेरैले ओभर स्टे गर्ने गरेको उनले जनाए।

प्रकाशित: १५ भाद्र २०७३ ०१:३० बुधबार

उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार