समाज

दिवङगत पत्रकार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना

काठमाडौँ-नेपाल प्रेस युनियनका केन्द्रीय सचिव स्वर्गीय सूर्यकुमार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना भएको छ। नेपाल प्रेस युनियन काठमाडौं शाखाले क्षेत्रीका छोराको शिक्षादिक्षामा सहयोग गर्न कोष खडा गरेको हो। कोषमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र उनकी श्रीमती नेविसंघ नेतृ एन्जिला न्यौपानेले संयुक्त रुपमा एक लाख रुपैयाँ सहयोग गरेका छन्।

शनिबार प्रेस युनियनमा आयोजित कार्यक्रममा पौडेल दम्पतिले स्वर्गीय क्षेत्रीकी पत्नी र छोराको उपस्थितिमा युनियनको काठमाडौं शाखाका अध्यक्ष नकुल अर्यालमार्फत १ लाख रुपैयाँ अक्षय कोषका लागि हस्तान्तरण गरे। पौडेल दम्पत्तिले गत बैशाखमा आफ्नो विवाहको खर्च कटाएर अक्षय कोष स्थापना गर्न सहयोग गर्ने जनाएका थिए।

रकम हस्तान्तरण पछि नेता पौडेलले स्वर्गीय क्षेत्री बहुआयमिक व्यक्ति भएको भन्दै उनको परिवारका लागि राज्यले सोच्नुपर्ने बताए। उनले पत्रकारिताको विकास भएमात्र राजनीति पारदर्शी हुने भन्दै पत्रकारिताको विकासका लागि राज्यले विशेष चासो दिनुपर्ने समेत उल्लेख गरे।

सो क्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले २५ हजार, ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले ११ हजार १ सय ११, नेविसंघ केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, केन्द्रीय सदस्य सुशील भट्ट तथा नेविसंघ नेता हरि आचार्यले जनही ५–५ हजार रुपैयाँ कोषमा सहयोग गर्ने घोषणा गरे। नेविसघं नेताहरु पुष्प बस्नेत र दिपेन क्षेत्री तथा पत्रकार इजहार मिकरानीले १–१ हजार अक्षय कोषका लागि उपलब्ध गराएका थिए।

प्रकाशित: ११ भाद्र २०७३ १४:१२ शनिबार

दिवङगत पत्रकार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना