समाज

फर्जी विलभरपाई बनाई रकम हिनामिना गर्ने विरुद्ध मुद्दा दर्ता

 सुर्खेतको पञ्चपुरी नगरपालिकामा फर्जी विलभरपाई प्रयोग गरेर आर्थिक अपचलन गरेका लेखा अधिकृत सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दायर गरेको छ। 

पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेयको किर्ते हस्ताक्षर सहित फर्जी विलभरपाई बनाएर गत आर्थिक वर्षको अन्त्यमा लेखापाल मनबहादुर बुढाले आर्थिक रकम हिनामिना गरेको समाचार नागरिक दैनिक लगायत संचारमाध्यममा सार्वजनिक भएसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको थियो।

छानविनपछि अख्तियारले नगरपालिकाका लेखा अधिकृत मोहन बुढा, न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजाली, नगरपालिकाका अकिृत (छैटौ)ं लालबहादुर सुवेदी र अधिकृत (छैटौ) तुलसी केसी विरुद्ध मुद्दा दायर गरेको हो।

 आयोगले उनीहरुविरुद्ध विभिन्न शीर्षकमा होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा दुई लाख ६२ हजार रुपैयाँ मागदाबी गरेको छ। पञ्चपुरीका लेखा अधिकृत बुढाले होटल संचालकसँग खाली बिल लिई बिलमा किर्ते बिल भरपाई गरी भुक्तानीको लागि गोश्वारा भौचर र बैँक चेकमा समेत प्रमुख प्रशासकीय अधिकृतको किर्ते दस्तखत गरेर बुढाले दुई लाख ६२ हजार ५ सय २ रुपैयाँ भुक्तानी गरेको अख्तियारले छानविनमा ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाईएको छ।

 होटल सञ्चालक राम्जाली लेखा अधिकृतलाई खाली विल दिई झुटटा विल भरपाई बनाउने कार्यमा  मतियार भएको, अधिकृत (छैटौं) सुवेदीले झुटटा विल भरपाई बनाई गैरकानुनी लाभ वा हानी पु¥याउने बदनियतले सरकारी रकम हिनामिना गर्ने कार्यमा मतियारको काम गरेको, अधिकृत (छैटौं) केसीले शिक्षा शाखाबाट आयोजना हुने विज्ञ समुहको बैठक, परीक्षा समितिको बैठक  र शिक्षा समितिको बैठकहरुको लागि लेखापाल बुढालाई झुटटा विल भरपाई बनाई रकम भुक्तानी  गर्न सहयोग गरेको देखिएको हुँदा आरोपपत्र विशेष अदालत काठमाडौंमा दायर गरिएको अख्तियारले निकालेको प्रेस नोटमा उल्लेख छ।  

प्रकाशित: १२ माघ २०७९ ०५:३९ बिहीबार