समाज

ब्रत बसेर श्रीकृष्ण जन्मदिन

ललितपुर- पाटनस्थित कृष्णमन्दिरमा बिहीबार कृष्ण जन्माष्टमी पर्वका लागि सबै तयारी पूरा भएको छ। मन्दिर परिसरको सरसफाइ, सुरक्षा तथा व्यवस्थापनका सबै काम पूरा भएको मंगल टोल सुधार समितिका उपाध्यक्ष हरिनरसिंह अमात्यले जानकारी दिए। 

'बुधबार राति १२ बजेदेखि नै भक्तालु पंक्तिबद्ध हुन्छन्,' अमात्यले भने, 'बिहीबार  रातिसम्म पूजा जारी रहन्छ।'  भूकम्पका कारण मन्दिरमा टेको लगाएकाले भक्तजनले मन्दिर प्रवेश नगरी पूर्ण परिक्रमा मात्र गर्न पाउने छन्। गत वर्ष मन्दिर पूर्ण परिक्रमा गर्न सकिने अवस्था थिएन।

भक्तजनको लाइन मंगलबजारस्थित कृष्णमन्दिर पछाडि हुँदै महापाल, क्वालखु, धलचासम्म पुग्ने अमात्यले सुनाए। 'भक्तालुको लाइन व्यवस्थापन गर्न विभिन्न संघसंस्थाका सयौं स्वयंसेवक खटिनेछन्,' उनले भने, 'सबै तयारी सकिएको छ।'

बिहीबार दिउँसो राष्ट्रपति पनि कृष्ण मन्दिर आउने कार्यक्रम रहेको अमात्यले बताए।

भगवान् श्रीकृष्णको जन्मदिन अर्थात् कृष्ण जन्माष्टमी पर्व हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान् कृष्णको पूजाआजा गरी मनाउने गर्छन्। जन्माष्टमीमा पाटनस्थित कृष्ण मन्दिरमा  भक्तालुको भीडभाड हुने गर्छ।  यहाँ पूजाआराधना गर्न उपत्यकालगायत आसपासका ठाउ“बाट समेत हजारौं दर्शनार्थीको घुँइचो लाग्छ। उपत्यका बाहिर बुटवल, नारायणगढ, नेपालगन्ज, भैरहवा, विराटनगर, वीरगन्जलगायत देशभरका विभिन्न सहरमा कृष्ण अष्टमी पर्व मनाइन्छ। कृष्णाष्टमीमा धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्णको रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ।

पौराणिक पक्ष   

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणतेा मानिने भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्णपक्ष अष्टमीको मध्यरातमा भएकालेे जन्माष्टमीको दिनलाई श्रीकृण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ।

सर्वसाधारणलाई कंसको अत्याचारबाट मुक्ति दिलाउन कृष्णको जन्म भएको मानिन्छ। कौरव–पाण्डवको महाभारत युद्धमा समेत कृष्णको विशेष भूमिका थियो।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले सत्यको पक्षमा रहेर सत्कर्म गर्न प्रेरित गरेका छन्।

कुरुक्षेत्रमा कौरवसँगको लडाईँ सुरु हुने समयमा पाँच पाण्डवमध्ये अर्जुनलाई उपदेश दिने क्रममा कृष्णका वचनलाई नै श्रीमद्भागवतगीताका रुपमा घरघरमा पढिन्छ।

विद्यालयहरुमा 'बालकृष्ण'को मुस्काँन

कृष्ण अष्टमीको अघिल्लो दिन बुधबार राजधानीका कैयौं विद्यालयमा स्कुले नानीहरु राधा र कृष्णको भेषमा सजिए। शिरमा मयूरको प्वाँखसहित पहेँलो धोतीकुर्तामा सजिएका बालक र सारीचोलोमा सजिएका राधाका झाँकीले विद्यालय नै कृष्ण मन्दिरजस्ता लाग्थे।

प्रकाशित: ९ भाद्र २०७३ ०२:२२ बिहीबार

ब्रत बसेर श्रीकृष्ण जन्मदिन