समाज

१७ दमकल हस्तान्तरण

काठमाडौं- आगलागि नियन्त्रणमा सघाउन भारतले नेपाललाई अनुदानस्वरुप दिएको १७ वटा दमकल हस्तान्तरण गरेको छ। नेपालका लागि भारतीय राजदूत रन्जित रेले राजधानीमा बुधबार संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई दमकलको साँचो हस्तान्तरण गरे। भारतबाट महिना दिन अघि नै दमकल आए पनि सरकार परिवर्तनका कारण हस्तान्तरण हुन सकेको थिएन।

दमकल हस्तान्तरण गर्दै राजदूत रेले प्राचीनकालदेखि दुई देशबीच रहँदै आएको मित्रता सुमधुर राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए। 'नेपालमा भइरहने आगलागीका घटना नियन्त्रणमा सघाउन दमकल अनुदान दिइएको हो,' रेले भने, 'हामीले यसअघि चुनावताका पनि सवारीसाधन सहयोग गरेका थियौं।'

मन्त्री पाण्डेले दमकल उपलब्ध गराएकोमा आभार व्यक्त गरे। 'सहयोगले भारतसँगको सदियौंदेखि जारी मित्रता प्रगाढ बनाउने छ,' मन्त्री पाण्डेले भने। भारतले दिएका दमकलमध्ये एउटा बुधबार नै मन्त्री पाण्डेले काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरे। बाँकी दमकल भने आवश्यकता र माग अनुसार अन्य नगरपालिकालाई स्थानीय विकास मन्त्रालयमार्फत वितरण गरिनेछ।

स्थानीय विकास मन्त्रालयका सहसचिव तथा अग्नी नियन्त्रण तथा विपद् व्यवस्थापन शाखाप्रमुख ऋषिराज आचार्यका अनुसार दमकल ८ हजार लिटर क्षमताका छन्। एउटा दमकलको मूल्य करिब ७० लाख रुपैयाँ पर्छ।

मन्त्रालयले यस वर्ष ३५ वटा दमकल खरिद गर्न बजेट छुट्याएको छ। दमकल खरिद गर्न आवश्यकता र मागअनुसार नगरपालिकालाई बजेट उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले जनाए। 'नगरपालिकामा एउटा दमकल हुनुपर्छ। तर अधिकांश नगरपालिकासँग दमकल छैनन्,' भट्टराईले भने, 'भारतले दिएका १७ र थप ३५ वटा खरिद गरी यस वर्ष ५२ वटा नगरपालिकामा कम्तीमा एउटा दमकल उपलब्ध गराउने लक्ष्य मन्त्रालयको छ।' २ सय १७ नगरपालिकामध्ये अहिले ७२ वटासँग मात्र एकएक वटा दमकल छन्। यस वर्ष ५२ वटा दमकल थपिएसँगै दमकल हुने नगरपालिका १ सय २४ पुग्ने मन्त्रालयले बतायो।

दमकल सञ्चालन खर्चिलो हुने हुँदा नगरपालिकाले नै दमकल राख्न चासो दिदैँनन्। नगरपालिकाले माग गरे मन्त्रालयले दमकल उपलब्ध गराउँछ। प्रवक्ता भट्टराईका अनुसार दमकल सञ्चालन गर्न २ जना चालक र ४ जना कर्मचारी आवश्यक पर्छन्। चालक तथा कर्मचारी व्यवस्थापन खर्च थपिने भएकाले नगरपालिका दमकल राख्न अनिच्छुक भएको मन्त्रालयले जनायो।

'अहिले मन्त्रालयको लक्ष्य कम्तीमा एउटा जिल्लामा एउटा भए पनि दमकल पुर्‍याउने छ,' भट्टराईले भने। एउटा जिल्लामा एउटा दमकल भए सडक पुगेका ठाउँमा आगलागी नियन्त्रण गर्न सहज हुने उनले बताए। जिल्लामै दमकल नभएका कारण अहिले कतिपय जिल्लामा आगलागी हुँदा ठूलो भौतिक क्षति हुने गरेको छ।

प्रकाशित: ९ भाद्र २०७३ ०२:१२ बिहीबार

१७ दमकल हस्तान्तरण