समाज

चिसो छल्न चोक–चोकमा आगो बाल्दै प्रशासन

हिमाली जिल्ला जुम्लामा हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ। सोमबार राति देखिको लगातार हिमपातले घर बाहिर निस्कनै कठिन भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले चिसो छल्न चोक चोकमा आगो बाल्ने अभियान सुरु गरेको छ। यति बेला जुम्लाका चार चोकमा आगो बाल्ने व्यवस्था गरिएको छ। 

अत्याधिक चिसोको कारण जुम्लामा हवाई यातायात दुई दिन देखि बन्द छ। कर्णाली राजमार्ग पनि बिहान देखी अवरुद्ध छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार जुम्लाले मुख्य बजारको बालमन्दिर, जिल्ला प्रशासन अगाडी, काले खोली र बसपार्कमा आगो बाल्न सुरु गरेको छ।

चिसोको समयमा बाटोमा हिँड्ने नागरिक, डयूटिमा रहेका सुरक्षाकर्मी वा वरिपरिका नागरिकहरूको केही राहत मिलोस् भन्नका लागि दाउरा वितरण गरी आगो बाल्ने अभियान सुरु गरिएको केशरीले बताए।

जिल्ला प्रशासन कार्यालयले आफैले दाउराको व्यवस्थापन गरिदिएको हो। नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले हिउँ परिरहेको समयमा स्थानीय प्रशासनले गरेको काम प्रेरणादायी भएको बताउँदै सबै चोकहरूमा दाउराको व्यवस्थापन हुनुपर्ने भनाई राखे। 

स्थानीय प्रशासनको यस न्यानो अभियानमा यहाँका ८ स्थानीय तहका ज्येष्ठ नागरिकहरूलाई राहत स्वरूप न्यानो कपडा वितरण गरिने छ। जस अनुसार आज पहिलो दिन प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले ६ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको बताए।

उनका अनुसार १ नगरपालिका र ७ गाउँपालिकाका ३ सय बढी ज्येष्ठ नागरिकलाई न्यानो कम्बल र ज्याकेट वितरण गरिनेछ। न्यानो कम्बल र ज्याकेट पाउँदा स्थानीयले खुसी देखिएका छन्।

प्रकाशित: ११ माघ २०७९ १२:५२ बुधबार