काठमाडौं- चोरीठगीमा संलग्न व्यक्तिहरूले पछिल्लो समय विकसित आधुनिक प्रविधिलाई नै ठगीको माध्यम बनाउने गरेको पाइएको छ। पछिल्ला दिन पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान क्रममा प्रहरीले यो तथ्य पत्ता लगाएको हो।
बालाजुस्थित बागलुङ प्याराडाइज होटल एन्ड रेस्टुरेन्टमा बस्दै आएका तेजेन्द्र केसीलाई प्रहरीले भदौ १ गते ठगी आरोपमा पक्राउ गर्यो। प्रहरीका अनुसार भाडामा लिएको निजी स्कर्पियोमा डुल्ने उनको दैनिक खर्च निकै थियो। सम्बन्धित सवारीधनीलाई भने उनी आफूलाई चालक बताइदिन आग्रह गर्थे। बागलुङ, गल्कोटका तेजेन्द्रको सबै खर्च जापानबाट आएको एउटा नम्बरका भरमा चलेको छ।
आइतबार सार्वजनिक गरिएका तेजेन्द्रलाई ब्युरोका अधिकारी 'हाईटेक' ठग भन्छन्। किनकि उनले होटलको बिल भुक्तानीदेखि सवारीसाधन भाडासमेत हाल चलनचल्तीमा रहेको अनलाइन सपिङमार्फत तिर्दै आएका थिए। कतिपय स्थानमा नगद साटो जिन्सीमा भुक्तान गर्ने तेजेन्द्रले सबैलाई सामसुङ, हुवावे र लेनोभो ब्रान्डका महँगा मोबाइल दिन्थे।
ब्युरोका एसपी दिवेश लोहनीका अनुसार डिजिटल सपिङ गर्ने तेजेन्द्र उक्त सामानको आफूले मोल तोकेर भुक्तान गर्ने व्यक्तिलाई लिन पठाउँथे। प्रविधिमा पोख्त तेजेन्द्रले सिसिटिभीबाट जोगिन खरिद गरेको वस्तु लिन अन्यलाई पठाउने गरेको लोहनीको भनाइ छ। 'अनेकौं प्रकृतिबाट ठग्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ, थप केही खुल्न बाँकी छ,' उनले भने।
ब्युरोका अनुसार बागलुङका दुई युवकलाई विदेश पठाउने भन्दै ठगेका तजेन्द्रले भाडामा लिएर गएको ट्याक्सीलाई समेत ठगेका थिए। 'जो भेटिन्छ उसलाई ठग्ने गरेको देखियो,' लोहनीले भने।
ब्युरोका अनुसार न्युरोटिक नेपाल प्रालिको न्युरोड तथा जावलाखेल शाखाबाट तेजेन्द्रले जापानबाट आएको सोही नम्बरबाट भुक्तान गर्दै आएका थिए। उनले एक जापानी नागरिकको क्रेडिट कार्ड डिटेल चोरी गरी त्यसैको प्रयोगबाट दुई महिनामा सात लाख रुपैयाँबराबरका सामान खरिद गरेको प्रहरीले जनाएको छ।
जेठदेखि पटकपटक गरी हिमालयन बैंक लिमिटेडबाट अनलाइन पेमेन्ट सुविधा लिएका तेजेन्द्रले न्यूरोटिक नेपालका दुवै शाखामा जापानी नागरिकका नाममा जारी क्रेडिट कार्ड नम्बर हानी सामसुङ, हुवावे र लेनोभो ब्रान्डका महँगा मोबाइल खरिद गरिरहेका थिए। भिसाकार्डमार्फत भइरहेको ठगीका विषयमा सम्बन्धित व्यक्तिले त्यहाँको भिसा कार्ड सेक्सनमा जानकारी गराएपछि हिमालय बैंक र न्युरोटिकले ब्युरोलाई खबर गरेका थिए।
यसअघि ब्युरोले साउन २० गते एटिएम कार्ड चोरी गरी हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने रोमानियाली नागरिक प्रेडा एयुरेलियनलाई पक्राउ गरेको थियो। उनले अन्य व्यक्तिको पिनसहितको एटिएम चोरी गरेर दरबारमार्ग, ठमेल, लाजिम्पाटबाट पैसा निकाल्दै आएका थिए।
साउन १७ गते लाजिम्पाटको एटिएम बुथमा प्रवेश गरेका उनको सिसिटिभी फुटेजको हुलियाका आधारमा शंकर होटल प्रवेश गर्ने क्रममा ब्युरो टोलीले नियन्त्रणमा लिएको थियो। ४९ वर्षीय प्रेडा बस्ने होटलको कोठा खानतलासी गर्दा प्रहरीले २ लाख ६४ हजार नेपाली रुपैयाँ, ल्यापटप एक थान, मोबाइल २ थान, गिफ्ट कार्ड, पासपोर्ट तथा आइडी कार्ड बरामद गरेको छ।
नेपालका अधिकांश एटिएम मेसिन पुरानो म्याग्नेटिक स्ट्राइप सिस्टमका रहेकाले अनधिकृत रुपमा पैसा निकाल्ने जोखिम तीव्र रहेको ब्युरोको बुझाइ छ। एसपी हृदय थापा नेपालमा अनलाइन सपिङको सुविधा र एटिएम काउन्टरको प्राविधिक सहजतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय 'हाइटेक' ठगले प्रयोग गर्दै आएको बताउँछन्।
'नेपालजस्तै अल्पविकसित देशमा चोरीका एटिएम र ह्याक गरेका कार्डका आधारमा चोरी गर्ने गिरोह बेलाबेला सक्रिय हुने गरेको छ, ब्युरोले नै अधिकांश अप्रेसन गरिसकेको छ,' उनले भने।
सन २०१५ देखि तीनपटक नेपाल आई दुई महिनादेखि शंकर होटलमा बस्दै आएका प्रेडाले हिमालयन र नबिल बैंकको एटिएम बुथबाट झिकेको रकम मनि चेन्जरबाट युरो र अमेरिकी डलरमा परिवर्तन गर्ने गरेको खुलेको थियो। इन्डोनेसिया, थाइल्यान्ड, बोलिभिया, पपुवान्युगिनीलगायत देशहरुमा पनि उनले एटिएमबाट ठगी गर्ने गरेको अनुसन्धानमा देखिएको छ।
प्रेडाले समूह परिचालन गरी योजनाबद्ध रुपमा काम गर्दै आएका थिए। पहिलो समूहले विभिन्न देशका एटिएम मेसिनभित्र एक्स्टर्नल डिभाइस सेट गरी एटिम कार्ड प्रयोगकर्ताको सम्पूर्ण विवरण कपी गर्ने तथा एटिएम बुथभित्रै गोप्य क्यामेरा सेट गरेर पिन कोड लिने काम गर्दै आएका थियो। यसरी लिएको सूचना दोस्रो समूहका सदस्यलाई दिने र दोस्रो समूहले गिफ्ट कार्ड तथा स्वापिङ डिभाइसबाट कार्ड प्रयोगकर्ताको सूचना राखी एटिएम कार्ड बनाउँदै आएका थिए।
ब्युरोले यही समूहका अर्का एक सदस्यलाई एटिएम डाटा र पिन कोड चोरी गरी नक्कली एटिएम कार्ड बनाई अर्काको खाताबाट पैसा निकालेको आरोपमा पक्राउ गरेको थियो। उनका साथबाट ३१ लाख रुपैयाँ र ४२ वटा नक्कली एटिएम बरामद भएको थियो।
ब्युरोले विभिन्न देशका ४२ वटा एटिएम कार्ड, २६ लाख नेपाली रुपैयाँ र ५ हजार अमेरिकी डलर (करिब ५ लाख रुपैयाँ) सहित टर्कीका नागरिक मेहत गुलेनलाई दरबारमार्गको होटल उडल्यान्डबाट २०७१ मंसिरमा पक्रेको थियो।
एक्लो व्यक्तिको प्रयासमा मात्र कार्डको डाटा र पिन नम्बर चोरी गरी नयाँ कार्ड बनाउन असम्भव हुने निष्कर्ष निकाल्दै ब्युरो अधिकारीले पक्राउ परेका गुलेन यस्तै ठगीमा सक्रिय अन्तराष्ट्रिय समूहका सदस्य भएको टुंगो लगाएका थिए।
प्रकाशित: ७ भाद्र २०७३ ०२:५८ मंगलबार