समाज

ज्यानमारा चट्याङ

विराटनगर- आइतबार अपराह्न मौसम एकाएक बदलियो। दिउँसै रात परेजस्तो। आकाशमा कालो बादल मडारिइरह्यो। टपटप पानी पर्न थाल्यो। हपहपी गर्मी खेपिरहेका पूर्वी नेपालका बासिन्दाले आकाशतिर हेर्दै ‘राहत’ महसुस गरे।

नभन्दै आकाश बेपत्ताले गर्जन थाल्यो। हावाको गति तीव्र भयो। पानी दर्किरह्यो। मौसम अचानक शीतल भएपछि सप्तरी, कञ्चनरुप नगरपालिका–४ बस्ने लक्ष्मी मुखिया (६०) नातिसँगै घरको बरन्डामा बसिरहेका थिए। ८ वर्षको नाति देबा त्यहीँ खेल्दै थियो। मेघगर्जनसहित दर्किरहेको थियो। आकाश गड्याङगुडुङ गर्दै ठूलो आवाजमा कराइरहेको थियो। चट्याङ पड्केको आवाज र प्रकाश डरलाग्दो थियो।

घरको बरन्डामै बसिरहेका मुखियालाई चट्याङले हिर्कायो। उनको घटनास्थलमै मृत्यु भयो। त्यहीँ खेलिरहेका नाति देबा घाइते भए। आइतबार अपराह्न चट्याङले हिर्काएर पूर्वाञ्चलमा ४ जनाको मृत्यु भएको छ। पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका अनुसार भोजपुरको छिनामखु–४ का १८ वर्षीय राजिव श्रेष्ठ, ओखलढुंगा कटुन्जे–८ का ६५ वर्षीया निर्माया सार्की र सोलुखुम्बुको देउसा गाविस–२ का ३० वर्षीय लालकुमार राईको चट्याङले हिर्काएर मृत्यु भएको छ। ४ जना घाइते छन्। चट्याङले भोजपुर, छिनामखु–७ बस्ने गंगाबहादुर श्रेष्ठका दुईवटा भैंसी, दुईवटा राँगा र कृष्णबहादुर खत्रीको एउटा भैंसीसमेत मरेका छन्।

‘चारै जनाको घरमै बसिरहेकै बेला चट्याङले हिर्काएको थियो,’ पूर्व क्षेत्र प्रहरी कार्यालयको वेबसाइटमा लेखिएको छ, ‘शरीरमै अचानक चट्याङ बजि्रँदा उनीहरुको मृत्यु भएको हो।’

पूर्वाञ्चल हावापानी कार्यालय, धरानका अनुसार आइतबार पूर्वी क्षेत्रका सबै भेगमा अचानक मौसम बदली भएको थियो। ‘चैतदेखि नै पूर्वी नेपालमा मनसुन सक्रिय भएको हो,’ हावापानी कार्यालयका प्राविधिक सुदर्शन हुमागाईंले भने, ‘पानीसँगै तीव्र हावा र चट्याङ पनि परिरहेको छ।’

चैतयता (वैशाखबाहेक) चट्याङले पूर्वी नेपालमा हरेक महिना मानिसको मृत्यु भइरहेको छ। क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका अनुसार चट्याङले चैतमा १, जेठमा ६, असारमा ४, साउनमा २ र भदौमा ४ जनाको मृत्यु भएको छ।

आइतबार विराटनगरमा २६.५ मिलिलिटर पानी पर्‍यो। साउनमा सबैभन्दा बढी पानी परेको थियो। साउन ९ गते एकैदिन १०६.५ मिलिलिटर पानी परेको कोसी बेसिन कार्यालय, विराटनगरले जनाएको छ। साउन ७ गते पनि ७२.६ मिलिलिटर पानी परेको कोसी बेसिनमा विकास देउजाले जानकारी दिए। ‘चट्याङबारे मौसम पूर्वानुमान महाशाखाले नै अध्ययन गर्छ,’ हावापानी कार्यालय, धरानका प्राविधिक हुमागाईंले भने, ‘चट्याङ कहाँ र कति बेला पर्छ भन्ने अनुमान गर्न सकिन्न, मेघगर्जनसहित पानी पर्छ भन्ने मात्र थाहा हुन्छ।’ पूर्वाञ्चल हावापानी कार्यालय धरानमा भने चट्याङको रेकर्ड राख्न उपकरण जडान गरिएको छ। तर, त्यो मेसिनले चट्याङको रेकर्ड प्रत्येक ३–३ घन्टामा सिधै मौसम पूर्वानुमान महाशाखाको सफ्टवेयरमा पठाउँछ।

मानिसको ज्यानै जानेेगरी आखिर चट्याङ किन बजि्रन्छ? विराटनगरका भौतिकशास्त्रका प्रोफेसर देवेन्द्र अधिकारीका अनुसार बादलबादलबीच घर्षणले आकाशमा एक प्रकारको इलेक्ट्रिक चार्ज पैदा हुन्छ। त्यो चार्ज तल्लो क्षेत्र(जमिन)मा जान संघर्ष गर्छ। ‘बादलको घर्षणले उत्पन्न भएको त्यो चार्ज अग्लो ठाउँबाट तल आउन खोज्छ,’ अधिकारीले भने, ‘त्यसैले चट्याङले माथिल्लो क्षेत्रमा बढी नोक्सानी पुर्‍याउँछ। उनका अनुसार चट्याङमा हजारौं गुणा बढी करेन्टको प्रवाह हुन्छ।

विज्ञानशास्त्रका जानकार रामचन्द्र अधिकारीका अनुसार एकपटक बिजुली चम्किँदा १२ करोड ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ। जसले ३० हजार डिग्री सेन्टीग्रेटसम्म तापक्रम फाल्छ। जुन तापक्रम सूर्यको भन्दा बढी हुन्छ। कुमोलो निम्बस नामको बादलबाट उत्पन्न हुने चट्याङ भने जमिनसम्म आउने गर्छ र यसैले भौतिक र मानवीय क्षति पुर्‍याउँछ।

‘चट्याङ जमिनतिर आउन अग्ला घर र रूख नै रोज्छ,’ विज्ञानका प्रोफेसर अधिकारीले भने, ‘अग्लो घरमा लाइटिङ रड छ भने त्योमार्फत् चट्याङ सजिलै जमिनमुनि जान्छ, छैन भन्ने जमिनमुनि जान ठूलो संघर्ष गर्छ, त्यति बेला नै हो जनधनको क्षति पुर्‍याउने।’

उनका अनुसार चट्याङ जमिनमुनि जान संघर्ष गर्दा सर्ट सर्किट हुने, विस्फोट हुने गर्छ। ‘गड्याङगुडुङ गरेका बेला अग्ला भवन र रुखमुनि नबसेकै जाति हुन्छ,’ उनले चट्याङबाट बच्ने उपाय सुनाए, ‘हामीले चट्याङको आवाज मात्रै सुन्ने हो, तर आवाज आउनुअघि नै चट्याङले असर गरिसकेको हुन्छ।’

आकाशमा बादलको गतिविधि बढी भएपछि चट्याङ पैदा हुन्छ। अधिकारीका अनुसार मानिसलाई चट्याङले हिर्काउँदा करेन्ट लागेजस्तै हुन्छ। ‘मानिसको शरीरबाट बिजुली पास हुन खोज्छ,’ उनले भने, ‘शरीरलाई जलाउँदै जमिनमुनि पस्छ।’ फिजिक्स जानकारका अनुसार चट्याङबाट बच्न प्रिकसन (सावधानी) बाहेक अरु केही गर्न सकिन्न। घरमा लाइटिङ रड जडान गर्ने, बिजुलीको अर्थिङ राम्रो गर्ने र चट्याङ परेका बेला अग्ला रुखको नजिक नबस्दा चट्याङबाट हुने जनधनको क्षतिबाट जोगिन सकिने अधिकारी बताउँछन्।

घरको अर्थिङले बाहिरबाट आउने करेन्टलाई फाल्दिन्छ। अर्थिङमा एक प्रकारको इलेक्ट्रिक यन्त्र जडान गरिएको हुन्छ जसले चट्याङलाई जमिनमुनि सजिलै पठाइदिन्छ। बिजुली चम्केका बेला इलेक्ट्रिकल यन्त्रहरू प्रयोग गर्नुहुँदैन। घरमा जडान गरिएको बिजुलीको सर्किट जाँच गरिरहनुपर्छ। सर्किट लिक हुँदा पनि चट्याङले हिर्काउँछ।

प्रकाशित: ७ भाद्र २०७३ ०१:३२ मंगलबार

ज्यानमारा चट्याङ