समाज

वडाको राजस्व हिनामिनामा कैद तोकिएका व्यक्ति पक्राउ

 सरकारी राजस्व बैंकमा दाखिला नगरेर हिनामिना गर्ने तत्कालीन वीरेन्द्रनगर नगरपालिका–४ का कर्मचारी रत्नबहादुर विक पक्राउ परेका छन्। विशेष अदालतले सरकारी रकम हिनामिना गरेर भ्रष्ट्राचार गरेको ठहर गर्दै दुई वर्ष कैद र १४ लाख ३३ हजार ४३४ रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

अदालतको फैसलापछि फरार रहेका विकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेर जिल्ला अदालत सुर्खेतमा बुझाएको छ। ‘दुई वर्ष कैद र १४ लाख बढी जरिवाना तोकिएका व्यक्ति फरार रहेको सुचनाका आधारमा खोजतलास गर्दा वीरेन्द्रनगर–१३ स्थित करेखोलामा फेला पारेर पक्राउ गरेका हौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले भने, ‘पक्राउ परेका विकलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाएका छौं।’

वीरेन्द्रनगर नगरपालिका–४ वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत विकले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेका थिए।

सेवाग्राहीको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले विकलाई नियन्त्रणमा लिएको थियो अनुसन्धानको सिलसिलामा बिकले वीरेन्द्रनगर नगरपालिका–४ को कार्यालयबाट राजस्व रकम २० लाख २० हजार संकलन गरेकोमा बिभिन्न मितिमा ४ लाख १६ हजार ६०० रुपैयाँ बैंकमा दखिला गरी १६ लाख ३ हजार ४६७ राजस्व रकम बैंकमा दाखिला नगरी राजस्व रकम हिनामिना गरेको पाइएको थियो।

संकलित राजस्व रकम कार्यालयको कार्यक्रम सञ्चालन खर्च गर्ने तथा आफूखुशी खर्च गर्ने कार्यमा कार्यालय प्रमुख रहेका तत्कालीन वडा सचिव इन्द्रप्रसाद अधिकारीको समेत संलग्नता देखिएको थियो।  

प्रकाशित: १० माघ २०७९ ०५:४१ मंगलबार