समाज

पाउनै लागेको उत्कृष्टता खोसियो

सशस्त्र प्रहरी गण नम्बर ११ देशकै सबै गणमध्ये उत्कृष्ट ठहरिएको थियो। सम्पूर्ण गणमध्ये उत्कृष्ट गणका गणपतिलाई सशस्त्र प्रहरीको हेडक्वार्टरले सशस्त्र प्रहरी दिवसका अवसरमा पुरस्कृत गर्ने गर्छ। पुरस्कृत हुने भन्दै हेडक्वार्टरले ११ नम्बरका गणपत ध्रुव कार्कीलाई काठमाडौं बोलाएको थियो। गणपति सशस्त्र एसपी कार्की देशमै उत्कृष्ट गणको गणपति पुरस्कार थाप्न काठमाडौं पुगे पनि पाउनै लागेको उत्कृष्ट गणपति पुरस्कार खोसिएको छ। सोमबार सशस्त्र प्रहरी दिवसका अवसरमा २१ नम्बर दक्षिणकाली गण उत्कृष्ट हुँदै पुरस्कार प्राप्त गरेको छ।

भन्सारमा निगरानी बढाउन सशस्त्र प्रहरी मुख्यालयले गौर भन्सार कार्यालयमा सिसिटिभी जडान गरेको छ। आन्तरिक मूल्यांकन सकिएर गण नम्बर ११ देशमै उत्कृष्ट भएको भन्दै पुरस्कार थाप्न सशस्त्र एसपी कार्की काठमाडौं पुग्नासाथ सिसिटिभीमा डिउटीमा रहेको सशस्त्र प्रहरीले घुस लिएको भिडियो बाहिरिएपछि कार्कीका हातमा आउनै लागेको उत्कृष्टता खोसिएको हो।

सशस्त्रका वरिष्ठ प्रहरी हबल्दार मातृकाप्रसाद यादव र सशस्त्र प्रहरी जवान विवेक सिंहले डिउटीमै खटिएका बेला तस्करसित रकम लेनदेन गरेको सिसिटिभीमा भेटिएको हो। गौर भन्सारमा सशस्त्र प्रहरी बलको बिओपी कार्यालय रहेको छ। बिओपी कार्यालयका प्रमुख सशस्त्र प्रहरी निरीक्षक महेश्वर गिरी बिदामा रहेका बेला यादव र सिंहले घुस लिएको बुझिए पनि सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी निरीक्षक गिरी, वरिष्ठ हबल्दार यादव र जवान सिंहलाई हेडक्वार्टर झिकाएको छ।

प्रकाशित: १० माघ २०७९ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App