समाज

'सम्झौता पूरा नगरे नवौं सत्याग्रह'

काठमाडौं- चिकित्साशिक्षाका विकृतिविरुद्ध आठपटकसम्म आमरण अनशन बसिसकेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले नवौं अनशनको चेतावनी दिएका छन्। पछिल्लो अनशनको महिनादिन नाघ्न लाग्दासमेत सरकारले सम्झौता कार्यान्वयन नगरेको उनको गुनासो छ।

डा.गोविन्द केसी ऐक्यबद्धता गठबन्धनले शनिबार आयोजना गरेको बालुवाटार घेराउमा सरकार माग पूरा गराउनुसाटो सम्झौता उल्लंघनमा अग्रसर भएको आरोप लगाउँदै केसीले फेरि सत्याग्रह थाल्नुपर्ने परिस्थिति निम्त्याइएको जनाएका हुन्।

'खाएर लड्दा सुन्लान् कि भनेर प्रयास गरिरहेका छौं, सुनेनन् भने नवौं सत्याग्रहका लागि म तयार छु,' उनले भने।

करिब डेढ घन्टा लामो नागरिक धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा डा. केसी आफ्नो अभियानबारे प्रस्ट्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्साक्षेत्रमा गरेको हस्तक्षेपमा केन्द्रित भएका थिए।

प्रधानमन्त्री हुनुपूर्व केसीसँगका सम्पूर्ण सम्झौता कार्यान्वयनको वचन दिएका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सत्तामा पुगेसँगै सबै प्रक्रिया रोकेको भन्दै अन्य वक्ताले समेत आक्रोश दर्साए।

संसद्मा दर्ता सार्वजनिक महत्वको प्रस्तावमा छलफल रोक्नेदेखि सम्झौता कार्यान्वयनमा समेत दाहाल बाधक भएको औंल्याउँदै गठबन्धनले दबाब दिन प्रधानमन्त्री निवास घेराउ गरेको हो।  आठौं अनशनमा बसेका केसीसँग सरकारले साउन १० गते १२ बुँदे सहमति गरेको थियो।

कार्यक्रममा डा. केसीले चिकित्साशिक्षा र स्वास्थ्यसेवामा आमनागरिकको पहुँच बढाउने संघर्षमा निहित स्वार्थ बाधक देखिएपछि आफू पछिल्ला दिन भ्रष्टाचारविरुद्ध केन्द्रित भएको बताए। सुशासनविरोधी क्रियाकलाप छरपस्ट हुँदा पनि सांसद र नेता मौन बसेको उनको आरोप छ। 'जनताले तिरेको करबाट तलब खाइरहेका सभासद् लोकतन्त्रको सिपाही बन्न सकेनन्,' उनले भने, 'तपाईंहरू (सांसद) को कुर्सीमा बस्न सुहाउँदैन।'

त्यस्ता गतिविधिको प्रधानमन्त्री दाहालले नै संरक्षण र बचाउ गरेको औंल्याउँदै केसीले इतिहासले उनलाई सम्झौता कार्यान्वयनमार्फत प्रायश्चित् गर्ने अवसर दिएको बताए। चिकित्साशिक्षा र स्वास्थ्यसेवामा जेहेनदार विद्यार्थी र नेपालीको पहुँच नहुँदासम्म संघर्ष जारी राख्ने उनको भनाइ छ।

'८० प्रतिशत नेपाली बसोबास गर्ने ग्रामीण क्षेत्रमा न कलेज छ न अस्पताल,' उनले भने, 'जहाँबाट उपचारका लागि हेलिकोप्टर चार्टर गरेर आउनुपर्ने बाध्यता छ, त्यो नसक्नेले आजीवन अपांग वा दीर्घरोगी भएर बस्नुपर्छ।'

सामान्य उपचारसमेत नपाएकै कारण प्रत्येक ४–५ घन्टाको बीचमा एक सुत्केरी र प्रत्येक वर्ष सामान्य रोगबाट २४ हजार बालबालिकाको मृत्यु भइरहँदा पनि मेडिकल कलेजजति सहरमै थुपार्ने प्रवृत्तिको केसीले विरोध गरे। 'यो अवस्था अन्त्य होस् भनेर लड्दै आएको छु, यसअघि कार्यदलसमेत बन्यो,' उनले भने, 'तर, त्यसका महत्वपूर्ण सुझाव पन्छाएर विधेयक दर्ता गरियो।'

आफ्नो अभियानमा सहयोग थपिँदै गएकोमा हर्षित केसीले संविधानले तोकेको शिक्षा र स्वास्थ्यको हक सुनिश्चित गराइछाड्ने प्रतिबद्धता पनि जनाए।

अभियानमा ऐक्यबद्धता जनाउन बालुवाटार पुगेका सभासद् सुरेन्द्र चौधरीले पनि नेपालमा अहिले भ्रष्टाचार संस्थागत भएको बताए। 'अहिले बजेटको २०/३० प्रतिशत हिस्सा मात्रै सही ठाउँमा खर्च हुन्छ, अरू सबै भ्रष्टाचारमा सिद्धिन्छ,' उनले भने।

डा. केसीलाई 'मेन अफ डिस्टिङ्सन' भन्दै चौधरीले संसारमा यस्ता 'जिनियस' मान्छेहरूलाई पागल भन्ने गरिएको बताए। चौधरीले सही ठाउँमा सही व्यक्तिलाई नियुक्त गर्न नसक्ने अहिलेको राजनीतिक नेतृत्वविरुद्ध आन्दोलनको आवश्यकतासमेत औंल्याए। लेखक खगेन्द्र संग्रौलाले नेताहरूले नै शाहीतन्त्रको गोटीलाई ब्युँताएको आरोप लगाए। 'यसो गर्ने शेरबहादुर, केपी र प्रचण्ड हुन्,' उनले भने, 'कुन र कताको स्वार्थले गरेका हुन्, खोजी हुनुपर्छ।' जनताले तिरेको करबाट 'पेटमा बोसो' लगाएका सभासद् 'विधिमाथि बलात्कार हुँदासमेत मुडोजसरी मौन बसेको' संग्रौलाको भनाइ थियो।

मानवअधिकारवादी कपिल श्रेष्ठले सबैभन्दा विवादित मान्छेलाई पवित्र निकाय सुम्पिइएको आरोप लगाउँदै 'नेताहरूले जस्तो बिउ रोपे अहिले त्यस्तै फल लागेको' प्रतिक्रिया दिए। 

अभियानका संयोजक डा. जीवन क्षत्रीले भ्रष्टाचारबारे यति विवाद उठ्दासमेत संसद्ले छानबिन नगरेकोमा आश्चर्य जनाए। 

अर्का अगुवा प्रत्युष वन्तले लोकतान्त्रिक शासनमा पनि नागरिकहरू निश्चित व्यक्तिको त्रासमा बाँच्नुपरिरहेको बताए। 'पहिला पञ्चायतमा पार्टीरहित प्रजातन्त्र भन्थे, अहिले बहुपार्टी पञ्चायती लोकतन्त्र छ,' उनले भने, 'यसलाई चिर्न निरन्तर आन्दोलन, बहस र छलफल आवश्यक  छ।'

युवानेत्री रन्जु दर्सनाले चिकित्साक्षेत्रका विकृति समाधानका विषय सुझाउने गरी गठित कार्यदलले पेस गरेको प्रतिवेदन त्यत्तिकै थन्किँदा डा. केसी पटकपटक अनशन बस्नुपरेको स्मरण गराइन्। नेताहरु सुशासन कायम गर्न चुकिरहेको बताउँदै उनले वास्तविक लोकतन्त्र स्थापित गर्न युवाले आन्दोलन थाल्नुपर्ने बताइन्।

कोणसभाअघि विभिन्न ठाउँबाट जम्मा भएका युवा विद्यार्थी र नागरिक अगुवाले प्लेकार्डसहित प्रधानमन्त्रीनिवास अगाडि धर्ना दिएका थिए। धर्नामा डा.मधु घिमिरे, डा. केदारनरसिंह केसी, प्राध्यापक चैतन्य शर्मासहितको उपस्थिति थियो।

प्रकाशित: ५ भाद्र २०७३ ०२:५९ आइतबार

सम्झौता पूरा नगरे नवौं सत्याग्रह