समाज

'नाम दियो, दाम दिएन सरकारले'

म्याग्दी- सामाजिक अभियन्ता महावीर पुनले विश्वभर रहेका नेपाली वैज्ञानिकलाई नेपालमै फर्काएर स्वदेशमै काम गर्ने वातावरण बनाउन आफू अभियानमा जुटेको बताएका छन्। शनिबार गृहजिल्ला म्याग्दी आएका पुनले प्रतिभाशाली सन्ततिका प्रतिभा पालनपोषण गर्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लागेको प्रस्ट्याए।

म्याग्दी उद्योग वाणिज्य संघले शनिबार बेनीमा आयोजना गरेको 'राष्ट्रिय आविष्कार केन्द्र स्थापना' विषयक अन्तर्त्रि्कयामा पुनले देशको भविष्यसँग जोडिएको केन्द्रलाई चार वर्षसम्म सहयोगको आश्वासन दिए पनि सरकारले विश्वासघात गरेपछि बाध्य भएर जनताको ढोकामा आएको बताए।

'सरकारले केन्द्रको नाम दियो, दाम दिएन। चार वर्षसम्मको समय शून्य उपलब्धिमै बित्यो,' पुनले भने। उनले तत्कालीन अर्थसचिव कृष्णहरि बास्कोटासहित विभिन्न मन्त्रालयका सचिवको सक्रियतामा नाफारहित संस्थाका रुपमा दर्तालगायत कानुनी प्रक्रिया पूरा गरेको बताउँदै त्यसपछि विभिन्न बहाना बनाएर असहयोग गरिएको बताए।

'देश बनाउन जुन कुराको आवश्यकता छ, त्यसमा कुनै चासो देखाइएको छैन,' पुनले भने। उनले विज्ञान र प्रविधिबिना देशको विकास सम्भव नभएको बताउँदै त्यसमा अहिलेसम्मका कुनै पनि सरकारले प्राथमिकता नदिएको आरोप लगाए।

'विज्ञान तथा प्रविधि मन्त्रालयमा कोही मन्त्री भएर जान मान्दैनन्, युवा कर्मचारीले चासो देखाए पनि अर्थ मन्त्रालयले बजेट दिँदैन,' पुनले विज्ञानको विकास नहुनुको कारण खुलाए। केन्द्रले देशलाई विकसित मुलुकसरह बनाउन आवश्यक सबै क्षेत्रमा काम गर्ने गरी विदेशमा रहेका युवा वैज्ञानिकलाई देशको हितमा काम गर्ने वातावरण बनाउने बताए।

'हामीले नेपाली वैज्ञानिक र प्रतिभाशालीको सूची संकलन गरिरहेका छौं। निरन्तर सहयोगसहित आफैं उपस्थित भएर काम गर्ने वातावरण बन्छ,' उनले भने। देशले चासो नदेखाउँदा भारत, चीन, बेलायत, अमेरिकासहितका देश बनाउन नेपाली प्रतिभा देशमै वातावरण भए फर्कन आतुर रहेको उनले बताए। बिदेसिएका हजारौं प्रतिभाशाली सन्ततिलाई स्वदेशमै फर्काएर देश विकासमा लगाउने उद्देश्यसहित केन्द्र स्थापना गरिएको पुनको भनाइ छ।

३० वर्षको समयमा परिवर्तन भएका विश्वका विभिन्न देशको उदाहरण हेरेर काम गनुपर्नेमा जोड दिए। 'पहिलो आवश्यकता  मानव पुँजी हो। आर्थिक जुटाएर देश बनाउनुपर्छ,' उनले भने।

विज्ञान तथा प्रविधि देशविकासको एउटा औजार भएको बताउँदै पुनले उद्योगधन्दाको विकास नभएसम्म देश विकास हुन नसक्ने बताए। देशको कुल गार्हस्थ उत्पादनको शून्य दशमलब ५ प्रतिशत बजेट विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्ट्याएर त्यसबाट देशमा अनुसन्धान र विकास गर्ने आफ्नो प्रस्ताव कार्यान्वयन नभएकाले समस्या भएको बताए।

केन्द्रका अध्यक्षसमेत रहेका पुनले नेपालको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणका सबै जिल्लाका गाउँगाउँ पुगेर देशमा विज्ञान र प्रविधिको विकासका लागि अभियान सञ्चालन गरिने जानकारी दिए।

'केन्द्रको अर्को नाम नेपालीको पालनपोषण केन्द्र हो,' उनले भने। विद्युत उत्पादनका लागि तत्काल ५० करोड संकलन गरी बाँकी बैंकबाट ऋण लिएर सुरु गर्ने बताउँदै केन्द्रका लागि त्यसबाहेक स्रोत पनि जुटाउने बताए।

विद्युतगृह निर्माणसँगै केन्द्रले खोज तथा अनुसन्धानका कामसमेत निरन्तरता दिने पुनको भनाइ छ। उनले निरक्षर नेपालीले समेत आविष्कार केन्द्रबारे बुझेको तर उच्च शिक्षा लिएका नेतासहित कर्मचारीलाई सिकाउनुपर्ने अवस्था रहेकाले समस्या भइरहेको गुनासो गरे।

म्याग्दी प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले यार्सागुम्बा, रातोचन्दनलगायत थुप्रै बहुमूल्य जडीबुटी रहे पनि पहिचान अभावमा बर्सेनि अर्बौं नोक्सान भइरहेको स्मरण गराउँदै केन्द्रले त्यसको खोज र अनुसन्धान तथा उत्पादन बढाउने कार्यमा समेत ध्यान दिनुपर्ने जोड दिएका थिए। पूर्वसभासद गोविन्द पौडेल र नेकपा एमाले म्याग्दी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले अभियानका पक्षमा बोलेका थिए।

कार्यक्रममा सहभागी राजनीतिक दल, उद्योगी/व्यापारी, विद्यार्थीलगायतबाट केन्द्रका लागि ३ लाख ४४ हजार ४ सय ९४ रुपैयाँ आर्थिक सहयोग जुटेको थियो।

दूधकोे कमाइ केन्द्रलाई

पहिलो संविधानसभाका निर्वाचित सभासद गोविन्द्र पौडेलले जनता, उद्योगपति धनी भए देश धनी हुने र नेता धनी भए देश कंगाल हुने बताउँदै केन्द्र स्थापनाले देशलाई धनी बनाउने बताए। उनले आविष्कार केन्द्रले देशको सम्भावना र लगानीको क्षेत्रसहित देशमै उत्पादनको वातावरण बनाउने भएकाले पनि ब्यक्तिगत तथा संस्थागत तर्फबाट निरन्तर सहयोगको प्रतिबद्धता उनले जनाए। नेकपा माओवादी म्याग्दी संयोजकसमेत रहेका पौडेलले आफूसँग दुइटा भैंसी रहेको र त्यसबाट मासिक ३४ हजार कमाइ हुने बताउँदै एउटा भैंसीको एक महिनाको कमाइ आविष्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गरे।

'जसले बनाए पनि देश मिलेर बनाउने हो। जिल्लाका राजनीतिक दलले समेत सरकारलाई आर्थिक सहयोगको दबाब दिन्छौं,' उनले भने।

त्यस क्रममा पत्रकार महासंघ म्याग्दी अध्यक्ष सुरत केसीले ३ सय ६५ दिनको खाचा खर्चबापत प्रतिदिन सय रुपैयाँ केन्द्रका नाममा सहयोग गर्ने घोषणा गरेका थिए।

प्रकाशित: ५ भाद्र २०७३ ०२:०० आइतबार

नाम दियो दाम दिएन सरकारले